उसलाई अहिले निकै हतार छ जस्तो देखिन्छ। पाइलाहरू छिटो-छिटो चाल्दै छ। कहिले घर पूगौं र खुसीको खबर सबैलाई सुनाऊँ जस्तो भएको छ उसलाई। सधैं हिँडिरहेको बाटो पनि कति लामो भए झैँ लाग्छ। मनभित्र उमंगको लहर उर्लेको छ। साथै खुसीले सीमा नाघेको छ। त्यसैले जतिसक्यो चाँडो घर पुग्नु छ उसलाई।
“उफ sss! मान्छेको पनि कस्तो भीड?” सडकको पेटीतिर दृष्टि बढाउँदै मनमनै भन्छ, “हैन यी मान्छेहरू काहाँबाट औइरिएका होलान् यस्तरी।”
ऊ नयाँसडक हुँदै रत्नपार्क आईपुग्छ। “आ sss! ट्याक्सीमा जानु पर्यो कि क्याहो! मैतीदेवीसम्म कति नै पर्ला र? हदै परे साठी रुपैयाँ।” मनमनै गुन्छ। अनि एक दृष्टि सडकतिर दौडिरहेको ट्याक्सीतिर फाल्छ।
-“तर। के पैसा त छ मसँग?” मनमनै प्रश्न गर्छ।
हत्तपत्त खल्तीबाट पर्स निकाल्दै हेर्न थाल्छ। दश, बीस र दुई वटा पाँचको नोट जम्मा चालीस रूपैयाँ।
– “धत्तेरिका ! यति जाबोले कहाँ पुग्छ?” निरास भई लामो निस्वाश छोड्छ। जयशसंग रीस पनि उठ्छ। भएभरको पैसा त वियर मै सकियो नि। वियर पनि कति पिउन सक्या, पानी पिएजस्तो आफूलाई भने एउटाले नै पर्याप्त।” मनमनै रोष व्यक्त गर्छ। साउनको महिना भएकोले सिमसिम पानी पर्नथाल्छ। अब के गर्ने? पानीले रुझाउने भयो मनमनै विचार गर्छ। नाडीको घडी हेर्छ। “ओहो ऽऽऽ । नौ बजिसकेछ। समय गएको त पत्ते हुँदो रहेनछ।”
यत्तिकैमा पानी पनि बर्सन थाल्छ। ऊ हत्तपत्त ओत लाग्न बस स्टैण्डमा पुग्छ। ऊ नजिकै अरु दुई-तीन जना पनि ओत लाग्न आउँछन्। पानी दर्कन्छ। सडक सुनसान भइसकेको हुन्छ। अलि-अलि कपाल तथा मूख भिजेको हुनाले गोजीबाट रुमालझिकी मूख पुछन थाल्छ। उसलाई केहीक्षण अघिसम्म वियरको नशाले झुम्म पारेको थियो। तर अहिले पुर्ववत् स्थितिमा आउँछ।
“वियर लागेनछ। नत्र महाभारत शुरू गरिहाल्थी नि। सम्झाउँदा-सम्झाउँदा हैरान!” मसुक्क मुस्कुराउँछ स्वास्नीको अनुहार सम्झेर। दर्केको पानीले भिजेको सडकतिर एकोहोरिएर टोलाउन पुग्छ।
०००
– “रामशरण जी! आज त पार्टी खुवाउनु पर्छ है?” नयाँसडकमा भेट्नासाथ प्वाक्क जयशले उत्तेजित हुँदै भनेको थियो।
– “किन र?” उसले अनभिज्ञ हुँदै सोधेको थियो।
-“लौ! तपाईलाई थाहा छैन? तपाईंको प्रमोशन भयो नि।”
ऊ आश्चर्यचकित हुँदै जयशको अनुहार निहार्न पुगेको थियो। अनि जयशको अनुहारको भाव पढ्न खोज्दै भनेको थियो “अहँ। मलाई त पटक्कै विश्वास लागेन। अनि तपाईंको के भो नि?”
-“के हुनु नि! हाम्रो तपाईं जस्तो भाग्य कहाँ छ र? तपाईं आज अफिस किन नआउनु भएको नि? के पहिलै थाहा पाइसक्नु भएको थियो।” जयशले शंका व्यक्त गरेको थियो।
-“काहाँ आउन पाउनु, आज त कोठा सर्दै फुर्सद भएन ।” हातको सामान देखाउँदै – “यी केही किनमेल गरुँ भनेर निस्केको, हैन साँच्चै भन्नुस न। के लिष्ट निस्केको हो र भन्या?” कुरा कोट्याउन खोज्छ।
– “आ SSS ! तपाईं त कस्तो अविश्वासी मान्छे। भैगो जान्छु, खुवाउनु पर्दैन।” झर्किदै जान खोज्छ जयश।
उसले रोक्दै भन्छ – “हैन! हैन! हिँड्नुस्न रेष्टुरेण्टतिर, तपाईं पनि त्यसै रिसाउनु हुन्छ। ” क्षोभ प्रकट गर्छ।
०००
-“दाई जाने हो?” अकस्मात यो आवाजले उसको अतीतको पाना च्याररर ऽऽऽ ! च्यातिन्छ। ट्याक्सी ड्राइभर झ्यालबाट टाउको निकाली सोधिरहेको हुन्छ। ऊ जानलाई अघि बढ्न खोज्छ। तर खल्तीको पैसाको ध्यान आउनासाथ टक्क अडिई अस्वीकारमा मुन्टो हल्लाउँछ। ट्याक्सी सरर अगाडि बढ्छ।
यति बेलासम्म पानी केही थामिइसकेको हुन्छ। ऊ सरासर अघि बढ्छ। घरबेटीको विशेष काम परेर पुरानो डेरा छाड्नु परेकोमा दुःख लागेको हुन्छ। तर नयाँ घरबेटी पनि राम्रै होलाजस्तो छ। नत्र त साहैं गाह्रो पो हुन्छ टिकेर बस्न। मनमनै विश्वस्त हुन्छ।
स्वास्नी सधैं भन्थी “आ ऽऽऽ ! यो डेरा सर्दा-सर्दा त वाक्कै लागिसक्यो के गर्नु यसो एउटा घडेरी किनेर आफ्नै घर बनाउन पाए त कति आनन्द हुन्थ्यो “स्वास्नी सपना देख्न थाल्थी। स्वास्नीको सपना कहिले पूरा हुने हो, यो पनि उसलाई थाहा छैन।
महंगीको चपेटामा परेको काठमाडौंमा घडेरी किनेर घर बनाउनु भन्ने कुरा त ऊ जस्ता नायव सुब्बालाई दिवास्वप्न देख्नु जत्तिकै थियो। तर श्रीमती पनि जागीरे भएकोले केही रकम बचत गरेर राखेकी थिइन्।
तिनी बरोबर भन्ने गर्थिन् “तपाईंले त्यो गाउँको घर जग्गा बेचे भइहाल्छ नि। अब को गएर बस्छ त्यो गाउँमा?” उपेक्षाको फूल चढाउँथिन् उसको गाउँलाई।
उसलाई असैह्य हुन्थ्यो। किनभने उसलाई आफ्नो गाउँ साह्रै प्यारो लाग्थ्यो। आफू जन्मी हुर्की बढेको माटोलाई ऊ कसरी चटक्कै बिर्सन सक्थ्यो र?
के गर्नु जागिर यहाँ, छोड्नु पनि कसरी? भनौ ऊ विवश थियो फर्कन, त्यसमाथि श्रीमती परिन् शहरिया, गाउँ भन्ने वित्तिकै घृणाले नाक चेप्राउँथिन्। त्यस्तो मान्छे कसरी परिन्, एउटा गाउँलेसँग? ऊ मनमनै उत्तर खोज्थ्यो।
एउटै कोठामा कोच्चिएर गुजारा गर्नुपर्थ्यो। कहिलेकाहीं श्रीमतीजी ससुरालीको प्रसंग झिकेर व्यङ्ग कस्थिन् ” आ ऽऽऽ ! त्यस्तो घरै नभाकोलाई कसरी बैनी दिने? हैन त बाबा?” तिनको व्यङ्गयवाणले ऊ मर्माहत हुन पुग्थ्यो। केही उत्तर दिने आँट गर्दैनथ्यो। उसलाई राम्रोसँग थाहा छ, उसकी सालीहरू धेरै भएतापनि रूपवती भने कुनै थिएनन्। स्वास्नीको घरप्रति आशक्ति देखी ऊ कहिलेकाहीं सोच्न वाध्य हुन्थ्यो – “म जस्तो घरै नहुनेले के बिहे नै नगर्ने त?”
एकदिन आवेशमा आएर भनी पनि दियो -“अनि तिमीले चाहिं किन मजस्तो काठमाडौंमा घर नभएकोसंग बिहे गर्यौँ त?”
तिनी निरुत्तर भइन्, तर एकैछिनमा सम्हालिदै भनिन् – “तपाईंको हिस्सी परेको अनुहारले मोहनी लगाएको भएर नि, …. तर त्यो बेला यस्तो दुःख पाइन्छ भन्ने कहाँ थाह थियो र?” उल्टै गुनासो पोख्न थालिन्।
ऊ दिक्क हुन्थ्यो। आ SSS ! आइमाईको जातैदेखि वाक्क लागिसक्यो। नभए पनि नहुने, भए पनि संधै कचकच कचकच। कहिले यो पुगेन, कहिले त्यो पुगेन। आफूपनि त योग्य हुनु पर्यो नि खाली शहरमा बस्या भन्दैमा सर्वगुण सम्पन्न हुन्छ कि क्या हो? आफूचाहिं जावो एस. एल. सी. मा पटक-पटक गुल्टी जाँचै दिनै छाड्ने, अरुलाई भने….” स्वास्नीप्रति मनमनै रोष व्यक्त गर्थ्यो।
तर अब त खुसी होली मेरो प्रमोशनको खबर सुनेर। त्यसको त्यो बनारसी साडी लगाउने रहर पनि मेटाइदिन्छु। स्वास्नी प्रति माया जागेर आउँछ। अनि छोरो पनि त ठूलो भयो नि। अब त बोर्डिङ्गमा यसै वर्षदेखि राखिदिनु पर्ला। कति हिँडेरमात्र अफिस धाउने, अब अलि-अलि पैसा जम्मा गरी, संचयकोष झिकी, यताउता गरी एउटा मोटरसाइकल त नकिनी भएन। सेक्सन अफिसर भएपछि त कमसेकम पदको पनि त इज्जत राख्नु पर्यो नि। तिनलाई पनि लोग्नेसँग बसी सरर्र हिँड्न कत्रो रहर होला। जे पर्ला पर्ला, अब गाउँको घरजग्गा पनि बेच्छु। यहीँ एउटा घडेरी किनेर घर बनाउँछु। अब केलाई चाहियो गाउँको घर? को गएर बस्छ र त्यो गाउँमा? अलि-अलि घमण्डले डेरा जमाउँछ उसको मनमा। यसरी ऊ मनको लड्डु घ्यूसँग खानु भने झैँ मनमनै गुन्दै कतिखेर घर पुगेछ पत्तै पाउँदैन।
०००
-“आज पनि अफिस जानुपर्दैन कि क्या हो?” स्वास्नी एक हातले चियाको कप समाती अर्को हातले बिस्तारै थपथपाउँदै मायालु स्वरमा भन्छे। उसले आधी आँखा खोल्दै स्वास्नीको हातबाट चियाको कप समातेर सोध्छ -“कति बज्यो हँ?”
– “आठ बजिसक्यो नि, कति सुतिराख्नु भा’, ल उठुनुस् छिटो। आज कतै रेष्टुरेन्टमा डिनर लिन जाउँ न है?” तिनी मसक्क मस्किदै भन्छिन्।
-“के को खुशीयालीमा?” स्वास्नीको गालामा हल्कासँग चिमोट्दै सोध्छ।
आ sss! हजुर त …. ।” लाडे पल्टिदै भन्छिन्।
-“के गर्ने आफूसँग पैसा छैन। के जाने रेष्टुरेन्ट खै?” हाइ sss गर्दै आङ तानेर ओछ्यानबाट उठ्छ र बाथरूमतिर पस्छ।
-“भो भो, कति कञ्जुस भा’को? अफिसर भएपछि पनि…. मै ख्वाउँला नि बरु।” मिठो व्यङ्ग्य कसिन्, अनि चियाको गिलास उठाएर भान्छातिर लागिन्।
०००
आज उसलाई अफिस पनि एकदमै नयाँ-नयाँ लागेको छ। उत्साहले उसमा प्रशस्त जाँगर भरिदिएको छ। आफ्ना सहकर्मीहरूसँग फुर्तिसाथ हात मिलाउँदै आफ्नो सिटमा गएर बस्छ।
ऊ प्रतीक्षा गर्दछ, “बधाई” दिन आउनेहरूको। तर…. कोही पनि आउँदैनन् उसको मनमा कताकता चिसो पस्छ। चारैतिर साथीहरूलाई हेर्छ।
“हत्तेरिका पहिले लिष्ट पो हेर्न जानु पर्ने।” मनमनै सोच्दै बिस्तारै उठ्न खोज्छ। यत्तिकैमा जयश हातमा एउटा बट्टा लिएर अगाडि देखा पर्छ -“नमस्कार रामशरणजी।” बट्टा खोल्दै अगाडि तेर्स्याउँछ।
“यो के हो?” बट्टाभरि लड्डु देखी अचम्म पर्दै सोध्छ।
-“लिनुस् न पहिले।” झन् अगाडि बढाउँदै भन्छ जयश।
उसले एउटा लड्डु मुखमा क्वाप्प राख्छ। अनि बिस्तारै चपाउँदै भन्छ – “लड्डु त मीठो रहेछ नि। के को खुशीयालीमा हो नि जयश जी?”
-“तर रामशरणजी एउटा दुःखको कुरा” जयश अलि सङ्कोच मान्दै भन्छ – “नाम त रामशरण ढुङ्गेलजीको निस्केको रहेछ। मैले त रामशरण ढुङ्गाना पो देखेछु, माफ गर्नुस् है ।” भन्दै जयश फटाफट अगाडि बढ्छ।
जयशको कुराले उसको सम्पूर्ण अस्तित्व नै झनझनाउँछ। उसको सपनाको महल गर्ल्यामगुर्लुम्म भत्किन्छ। चपाइरहेको लड्डु अनायासै मुखमा टक्क अडकिन्छ। लड्डू उसको लागि बल्छी झैँ हुन्छ। जसलाई ओकलेर फाल्न पनि सक्दैन न त चपाएर निल्न नै सक्छ। त्यसैमा ऊ माछो झैँ अल्झिएको अनुभव गर्छ।
हिजोको खुशी र आजको निराशालाई विश्लेषण गर्न खोज्छ। हिजो लाग्दथ्यो उसको शरीरमा पखेटा लाग्याथ्यो, जसको सहाराले टाढा-टाढा आकाशमा विचरण गर्न चाहन्थ्यो। तर आज पखेटा काटिएर भुईमा बज्रेको निरीह पक्षी झैँ भएको छ।
ऊ पश्चाताप गर्छ, जयश जस्तो फटाहाको जालमा कसरी सजिलै फस्न पुग्यो भनेर।
मानिस कति स्वार्थी हुन्छन्। आफ्नो क्षणिक आनन्दको लागि कसरी अरुको हृदयलाई छिया-छिया पारिदिन्छन्। छिः कस्तो समाज यो। आँखा रसाएर आउँछ। चारैतिर धमिलो देख्न थाल्छ। अनि टेबुलमा हात राखेर घोप्टो पर्छ।
***
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।