किशोरको लेखन प्रवृत्ति र नमेटिएका चित्रहरूमा प्रस्तुत सकारात्मक सोच
विषय प्रवेश:
दामोदर पुडासैनी ‘किशोर’ नेपाली नियात्रा साहित्यमा स्थापित हुँदै गरेका स्रष्टा हुन् । यात्राका अनुभवलाई कवितात्मक रूपमा प्रस्तुत गरी यात्रा कविता समेत प्रकाशित गरि सकेका पुडासैनीको यात्राका “प्रेमिल तरङ्गहरू” प्रथम यात्रा निबन्धात्मक कृति हो भने हाल उनको “नमेटिएका चित्रहरू” नामक यात्रा निबन्धात्मक कृति प्रकाशित छ ।
विदेश यात्रालाई केबल आफ्नो कार्यको साध्य नबनाई साहित्यिक लेखनको क्षेत्र वा विषयको रूपमा प्रयोग गर्न सक्नु लेखकको निजत्व हो । नियात्राकार किशोरका सबै जसो कृतिमा सकारात्मक सोचको प्रस्तुति पाइन्छ ।
साहित्यको प्रयोजनका रूपमा पूर्वीय काव्य शास्त्रले पनि उपदेशीय चेतनालाई लिएको छ । साहित्यमा सकारात्मक सोच केवल उपदेशका लागि मात्र नभई लेखककै प्रवृत्तिको एक पाटोको रूपमा पाठकलाई त्यसतर्फ डोर्याउन पनि प्रस्तुत गरिएको पाइन्छ । साहित्यमा यथार्थको खोज हुन थालेदेखि अर्थात् आधुनिकताको छाप लाग्न थालेदेखि साहित्यमा सकारात्मक चिन्तनको प्रयोगलाई कम महत्त्व दिन थालिएको हो । साहित्यमा प्रस्तुत सकारात्मक सोचले पाठकका मनमा कल्मष र मान्छेका चेतन र अचेतनमा रहेका अधिकांश नकारात्मक चिन्तनलाई सकारात्मक मार्गतिर उन्मुख गराउँछ । साहित्यमा यथार्थको प्रस्तुति हुन सके समाजलाई चिनाउने कुरा सत्य हो तर यथार्थको प्रस्तुति साथसाथै सकारात्मक दर्शन दिन सके साहित्य लेखनको उत्तम प्रयोजन हुन सक्ने थियो । यहाँ नमेटिएका चित्रहरू यात्रा निबन्ध सङ्ग्रहमा प्रस्तुत सकारात्मक सोचलाई खोजबिन गर्ने प्रयास गरिएको छ ।
विषय विस्तार:
किशोरका निबन्धमा जीवन दर्शन मिश्रित सकारात्मक दृष्टिकोण यत्रतत्र पाइन्छ । प्रस्तुत सङ्ग्रहका यात्रा निबन्धहरू लेखकले खाडी राष्ट्रहरू र दक्षिण एशियाली राष्ट्रको भ्रमण गर्दा सँगालेका अनुभूतिहरूलाई प्रस्तुत गरेका छन् । खाडी राष्ट्रहरू भन्ने बित्तिकै हामी नेपालीलाई वैदेशिक रोजगारीको गन्तव्य, मुसलमानको गढ, काला बुर्का लाएका नारीहरू, सेता पाइजामा र कुर्ता लाएका पुरुषहरूको बस्ती, उँटको पालन र व्यवसाय, प्रचण्ड गर्मीयुक्त मरुभूमि र त्यो मरुभूमिमा जिन्दगीको उज्यालो खोज्न हिँडेका नेपालीले भोग्नु पर्ने दुःखको सम्झना हुन्छ । नेपाल अधिकांशतः त्यहीँको रेमिट्यान्सले धानिएको मुलुक । त्यो रेमिट्यान्ससित जोडिएका अनेकथरि समस्या हाम्रो कल्पनामा आउँछन् । प्रायः अदक्ष, अप्राविधिक शिक्षा लिनेले र अर्धशिक्षितले समेत काम पाउने गरेको अँध्यारो प्रदेशको बिम्ब बनेर खाडी मुलुक उपस्थित हुन्छन् हाम्रो मस्तिष्कमा । ती देश डुलेका किशोरले त्यहाँ गएर केबल काला बुर्का र चार पर्खालभित्र बस्न नारी, नेपाली दरिद्रतालाई गिज्याउने मरुभूमिको तातो मात्र देखेका छैनन्, चुनौतीभित्र अवसरका पोकालाई पनि अनुभव गरेका छन् । उनले अँध्यारा ठानिने क्षेत्रमा पनि भौतिक विकासको चरमचुलीलाई देखे; मरुभूमि भित्रको शीतलता महसुस गरे; ती कुरालाई लिपिबद्ध गरेर यस सङ्ग्रहको प्रकाशन गरे । लेखक स्वयम् भन्छन्,
“प्रत्येक बाटा, पाटा र पहिराहरू कमनीय लागेनन् भने खुट्टाहरू कुँजा हुन्छन्, आँखाहरू भासिन्छन् अन्धकारमा । मैले यात्राका हरक्षणमा जीवनका नवीन अङ्कुर भेटेको छु ।”
कतार, यु.ए.ई., सउदी अरेयिबा, इजिप्ट, जोर्डन, पाकिस्तान र भारतका भूमिमा भेटिएका नमेटिने चित्रलाई समेट्न सकियो भने अन्ततोगत्वा हाम्रो सामाजिक मूल्य, मान्यता र व्यवहारमा निश्चय नै सकारात्मकता प्रस्फुटन हुन जान्छ भन्ने लेखकको भनाइले पनि यस सङ्ग्रहको प्रकाशनको प्रयोजन सकारात्मक सन्देश दिनु पनि हो भन्ने ज्ञात हुन्छ । परदेशको यात्रामा अनेक दुःख हुन सक्छन्; भाषाको अभाव, पूँजीको अभाव, नयाँ देशमा अनागरिक हुनुको आभाष र सवारी साधनले नै ठेगानामा पुर्याउने हो कि होइन भन्ने खालका अज्ञात दुःखका अवस्थाहरू आउलान् भनेर सोचियो भने त्यो यात्रा साँच्चिकै दुःखपूर्ण नै हुन्छ । यात्रालाई देश चिन्ने, विदेश चिन्ने र अर्काका नीति र फरक परिवेशका मान्छेका आचार र संवेदनालाई चिन्ने अवसरका रूपमा हेरियो भने यात्रामा परेका दुःख पनि अवसर जस्ता लाग्छन् । लेखक कतार एयरवेजले प्रदान गरेका सुख सुविधामा आनन्दानुभूति गर्दै कतारतिर उडेका छन् । घरि उनको मन विमानभित्रका परिचारिकातिर पुगेको छ त घरि घरतिर । बिदा हुने बेलामा पनि गीत गाउँदै टर्मिनल भवनभित्र छिरेको कुराले यात्रालाई सहज तरिकाले लिनु पर्ने कुराको बोध गराउँछ ।
लेखकले विमानभित्र म्यान अन फायर हेरेर ‘हरेक मान्छेको जिन्दगी आगोमा गुज्रि रहेको हुन्छ आगोका लप्काहरूसँग जुधेर फूल बन्न सक्नेहरू नै सफल हुन्छन्’ भन्ने सन्देश पाएको बताएका छन् । साँच्चै जीवन विसङ्गत छ, विसङ्गतिभित्र अस्तित्वको खोज गर्नु र आफ्नो अस्तित्व राख्नु नै जीवनको सफल पक्ष हो भन्ने अस्तित्ववादी जीवनदर्शनको सकारात्मक कोण यसमा प्रस्तुत छ । त्यसैले होला, दोहा पुगेर ओछ्यानमा पल्टँदै गर्दा लेखकले जिन्दगी उमङ्गपूर्ण भएको मीठो बिम्ब देखेका छन् भित्ताको चित्रमा पनि र यात्राले जीवनमा रौनक थपेको अनुभूति गरेका छन् ।
“मृत्युको मुस्कानमा ब्यूँझदै” शीर्षक निबन्धमा लेखकले कतारले देशभर बालुवाको बिस्कुनभित्र प्राप्त गरेको समृद्धिको वर्णन गरेका छन् । ४५ डिग्री सेन्टिग्रेडको तापक्रममा डुलि सकेपछि बल्ल घाममा निस्कने गल्ती गरेको थाहा पाउँदा पाठकले पनि सचेतता महसुस गर्छन् । कतारमा नेपालीले पाएको अनेक प्रकारको दुःखका कथाले मुटु निचोरिदिन्छ । नेपाल सरकारले पनि तिनीहरूका लागि केही गर्न नसकेको अवस्थामा लेखक आक्रोशित भएका छन् । समुद्रमा शीतलतामा डुबुल्की मार्दै त्यो आक्रोशलाई साम्य पारेर दुःखलाई अर्को सुखले थिचेर जीवन अगाडि बढाउनु पर्ने सन्देश दिएका छन् । दोहाका ठुलठुला सपिङ कम्प्लेक्स, बत्तीको झिलीमिली र मरुभूमि माथिको वैभवको चित्र उतार्दै पानी जहाजलाई जीवनसित तुलना गरेका छन् । दृश्यमा आएका वस्तुमा जीवन दर्शनको खोजी र प्रस्तुति किशोरको लेखनको विशेषता हो । उनका अन्य कृतिमा पनि जीवन सम्बन्धी दृष्टिकोणहरू प्रशस्त आएको पाइन्छ । पानीसित पानी जहाजले पौंठेजोरी खेले झैं जीवनले पनि समस्यासित पौंठेजोरी खेल्नुमा नै सार्थकता रहेको लेखकको ठहर छ । कतारमा नेपाली श्रमिकको जिन्दगी मृत्युको बाङ्गो मुस्कानमा ब्युँझि रहे झैं उनलाई लागेको छ ।
“फुलमाथि आगोमा उभिनेहरू” निबन्धमा लेखकले कतारी सरकारले त्यहाँका जनतालाई उपलब्ध गराएको निःशुल्क विद्युत्, पानी, सञ्चार, शिक्षा र स्वास्थ्यको चर्चा गरेका छन् । त्यसलाई नेपालको व्यवस्थासँग तुलना पनि गरेका छन् । चोरी डकैती शून्य प्रायः भएको सुन्दा हामीलाई पनि त्यस्तै सरकारको कल्पना गर्न मन लाग्छ । कमै उमेरमा कतारका मरुभूमिमा उँट गोठालो बन्न बाध्य नेपालीहरू र अभिजात वर्गीय ठाँट देखाउने कतारीहरू बिचको दुरीका बारेमा पढ्दा मन चसक्क भएर आउँछ तापनि लेखक भन्छन्,
“स्रोत साधनमा श्रम मिसाउने हो भने मरुभूमि पनि मालदहको मञ्जरी बन्छ, गलखेतको मंसिर झैं मगमगाउँछ।”
त्यसैले त प्रस्तुत निबन्ध पढेपछि अनगिन्ती सम्भावनाको देशमा बसेर सम्भावनाको पुल बाध्न थाल्छ पाठक पनि ।
“बुर्का बाहिर खोजिएको रङ”मा घाम र समुद्रको सौन्दर्यको रसपान गर्ने होडबाजीको दृश्यलाई खिच्दै दोहाको सुन्दरताको व्याख्या गरिएको छ । त्यसै सिलसिलामा नेपाली श्रमिकले पाएको समस्याको विश्लेषण पनि गरिएको छ । नेपालका सडकमा हुने जुलुस, बन्द, हड्ताल र गाइवस्तुको हुलमा अभ्यस्त लेखक त्यहाँका चिल्ला फराकिला सडक र ९९ प्रतिशत जनतासँग आफ्नै गाडी हुने कुरा सुनेर छक्क परेका छन् । प्रचण्ड गर्मी र मरुभूमिको उराठलाग्दो बालुवाका पहाड भएको कतार ग्याँस र तेलको उत्पादनले उन्नत बनेको रहेछ । सामुद्रिक विशालतालाई लेखकले शृङ्गारिक शैलीमा वर्णन गरेका छन् । जीवनको मजा नाङ्गोपनमा भएको कुरा व्यक्त लेखक भन्छन्,
“आकाशको आवरणमा बेरिएर दिगम्बर बाच्नु जतिको मजा अरु केही हुने रहेनछ ।”
निरस बालुवाको संसार र पानीको विशालता बाहेक केही नदेखिने वातावरणमा दिगम्बर बाँच्नुको मजा देख्नु सकारात्मक सोचको उपज हो ।
“ओइसिस होटलमा देखिएको जुवा,” सुरा र सुन्दरीको संसारलाई पनि लेखकले कतारी जीवनको बेग्लै पाटो बनाएर प्रस्तुत गरेका छन् । इस्लाम धर्मको नियमले छोपेको उकुसमुकुस भित्रको अर्कै वातावरणलाई लेखकले कुनै पनि आवरणले बैंसालु मन र शरीरका गतिलाई छेक्न र रोक्न नसकेको यथार्थसित जोडेका छन् । सउदी दुतावासमा भिसाको लागि गर्नु परेको ताकेताले नेपालप्रति अन्य देशले गरेको उपेक्षा जनाउँदा लेखकलाई मात्र नभई पाठकलाई समेत खल्लो लागेर आउँछ तर लेखक त भिसा पाएपछि मख्ख परेर इजिप्टका लागि प्रस्थान गरि सकेका देखिन्छन् र अर्को नयाँ संसार देख्न पाइने सम्भावनालाई च्यापेर त्यतैतिर साइत गरेको विषय वर्णनन छ,
“नाइल किनारमा बगि रहेको समय”मा आफू पूर्ण शाकाहारी पदार्थ छुट्ट्याई खाएको वर्णनले असहज परिस्थितिलाई केही सहज बनाउने तरिकाको जानकारी मिल्दछ । प्राचीन सभ्यताको सारथी इजिप्टको समृद्धिको रोचक वर्णन छ यसमा । कहिल्यै वर्षा नहुने गर्मीको साम्राज्यमा सडकका दाँयाबाया झुलेका रुखहरू देख्दा लेखकलाई आश्चर्य लागेको थियो । पार्किङ गरेको गाडी निकाल्दा ठाउँ नपुगे अर्को गाडीलाई गाडीले नै ठेल्ने चलन पनि आश्चर्य लाग्दो नै हो ।
विश्वको आश्चर्यतम बिम्ब पिरामिड हेरेका लेखकले संसारकै सबभन्दा लामो नाइल नदीको बगाइलाई पनि जीवनसित तुलना गरेका छन् इजिप्टमा । इजिप्टलाई धनधान्य बनाउन नाइलले गरेको योगदानलाई पढ्दै गर्दा नेपालका अनगिन्ती नदी नालाको शक्ति त्यसै खेर गइ रहेकोमा हामीलाई पश्चाताप बोध गराउँदै केही गर्न अग्रसर हुनै पर्छ भन्ने सन्देश प्राप्त हुन्छ ।
पिरामिड पुनर्जन्म प्रतिको विश्वासको प्रतिफल हो भन्ने जानकारी “पिरामिड छेउका जाँगरिला रात”मा दिइएको छ । इजिप्टको पुरातात्त्विक सङ्ग्रहालयको वर्णन र इजिप्टमा भएका थोरै नेपाली बिचको आत्मीयता यसमा वर्णित विषय हुन् । प्राचीन आर्य परम्परा र हिन्दु धर्मको मान्यता मानिने पुनर्जन्म सम्बन्धी अध्ययन र त्यसप्रति विश्वास मिश्र सभ्यतामै समृद्ध भइ सकेको थियो भन्ने प्रमाण पढ्न पाउँदा आफ्नो संस्कार र मान्यताप्रति गौरव गर्न मन लाग्दछ । विदेशमा बसेर नित्य स्वदेश सम्झिने स्वदेशप्रेमीका क्रियाकलाप र लेखकका साथीहरूका सुरापान समेत यसमा वण्र्य विषय बनेर आएका छन् । अन्य मध्यपूर्वी खाडी राष्ट्रको तुलनामा केही खुला र उदार रहेछ, इजिप्ट ।
लेखकले क्लियोपेट्राको प्रेमकथाको प्रसङ्ग “प्रेमिल पात्रहरूमाझ” निबन्धमा ल्याएका छन् । क्लियोपेट्राको जीवनलाई लेखकले अध्याँरोसँगै रहेको उज्यालो र सङ्घर्षको सफलता जस्ता पदावलीले चिनाएका छन् । अलेक्जेन्ड्रिया जाँदै गर्दा बसमा खाना बेच्दै गरेकी इम्यान आफू खाडी देशमा जन्मनु नपरेकोमा गौरव गर्छे । उसलाई बुर्काभित्र बेरिएर घरभित्र कोचिनु राम्रो लागेनछ । स्वतन्त्रताको मूल्य उसका अभिव्यक्तिबाट पनि पाठकले थाहा पाउँछ ।
यात्रामा खाना सशुल्क कि निःशुल्क भन्ने नसोधी खाँदा पछि तिर्नु पर्दाको अमिलोपनले पाठकलाई हँसाउँछ र पाठकलाई सचेत पनि बनाउँछ । एकैछिनमा भएको इम्यानसितको मित्रताले लेखकको यात्रालाई सहज बनाएको छ । भूमध्य सागरको किनारमा समुद्री छालको अँगालोले आपूmलाई निथ्रुक्क भिजाउँदा लेखकले आमाको शीतल स्पर्श पाएको अनुभूति गरेका छन् । चिसो भिजाइलाई मीठो स्पर्शमा अनुभूत गर्नु सकारात्मक सोचको उपज हो ।
विदेशीलाई सगरमाथाको कल्पना पिरामिडजस्तो लाग्दो रहेछ । विदेशमा सगरमाथाबाट देशलाई चिनाउँदाको गौरव पढ्दा हामीलाई समेत गौरव लाग्छ ।
लेखकले स्वेज नहरको इतिहासलाई “स्वेज र नाइलका सल्याङसुलुङ” निबन्धमा प्रस्तुत गरेका छन् । मरुभूमि र मान्छेको सिर्जनाले मन छुने कला बन्दो रहेछ भन्दै लेखकले इजिप्टका सडक, बगैंचा र कृषि फर्मको चित्रण गरेका छन् । एउटै स्वेज नहरले संसारको ढोका खोलेको अनुभूति पनि गरेका छन् लेखकले । जाँगर नहुनेका अगाडि आगो बनेर अरिङ्गाल ओकल्ने मरुभूमि जाँगर हुनेका लागि अन्न र आश्रय बन्न सक्ने रहेछ भन्ने अनुभूत गर्नु र उक्त सन्देश पाठकलाई दिनु पनि सकारात्मक हेराइको परिणाम हो । उर्वरा माटोलाई पनि चिन्न नसक्ने हामी नेपालीलाई यो आश्चर्य र सम्भावनाको सङ्केत दुवै बन्न पुग्दछ । कविको सिर्जनालाई उकास्ने उद्दीपक पनि बन्न पुगेको छ, इजिप्टेली मरुभूमिको सुन्दरता ।
इजिप्टबाट साउदी अरेबियाको रियाद पुग्दाका अनुभूतिलाई “चिलका झम्टाइहरू छाम्दै” निबन्धमा प्रस्तुत गरिएको छ । यसमा साउदी अरेबियाको मुसलमानी संस्कृतिका अँध्यारा पाटालाई पनि देखाइएको छ । साउदी अरबमा नेपाली महिला र पुरुष कामदारले सहनु परेको थिचोमिचोका कहाली लाग्दा घटना पनि यसमा आएका छन् । धर्म र ईश्वर मानव जीवनको सहजताका लागि एवम् मानव कल्याणका निर्मित हुनाले त्यसले मान्छेलाई बिचल्लीमा पार्नु हुँदैन; स्वतन्त्रताको हरण गर्नु हुँदैन भन्ने लेखकको मत छ । त्यसैले त लेखकले बुर्काभित्रको सुगन्ध पोख्न बिर्सेका छैनन् । त्यहाँको अर्थतन्त्र, सरकारले जनतालाई प्रदान गरेको सुविधा, इन्धनको व्यापारले ल्याएको समृद्धिको चित्रण यसमा गरिएको छ । अरेबियाका टावरलाई हर्दै लेखकले अग्लाइ र बगाइ दुवैको लक्ष्य समृद्धि, दुवै अस्पष्टबाट स्पष्टताको खोजीमा रहेको बताएका छन् साथै
“जिन्दगी मोड हो, मोडलाई मस्ती नठान्नेले अन्ततः निहुरिनै पर्छ”
भन्ने सन्देश आफूले पाएको र पाठकलाई पनि दिएका छन् । मृत्युदण्ड दिने धिरा स्क्वायरलाई देखेपछि लेखक जीवन दर्शनतिर तानिएका छन् । मृत्यु शाश्वत सत्य हो र जीवनको अन्धकारमा टाँसिएर उज्यालो उन्मुख गराउने अग्रज पनि, मृत्यु महाडर पनि हो, जीवनको ठुलो दुर्घटना पनि भन्दै लेखकले मृत्युदण्डले स्वयम्लाई नसच्याउने बरु अरुलाई समेत कठोर भयको भुमरीमा धकेल्ने उनको निष्कर्ष छ । मृत्युदण्डको भय नहुनाले हाम्रो समाज गतिछाडा बन्दै गएको भने उनले स्वीकारेका छन् । जेजस्तो भएपनि रातमा विद्युतीय रङले सजिएको रियादलाई सत्यम्, शिवम् र सुन्दरम्को एकाकार स्वरूप देखेका लेखकले बुर्काभित्रको अत्तर भन्दा बुर्काविनाको स्वच्छ हावा निश्चय नै सरल, सहज र स्वीकार्य हुने भन्दै लेखकले स्वतन्त्रताको गीत गाएका छन् ।
जाँगर र जडीलाई जब्बर पारियो भने जिरेनियम नफुल्ने कहीँ छैन भन्दै लेखकले “खुरन्धार खालिदिया” शीर्षक निबन्धमा
‘मरुभूमि केवल शुष्क हुँदैन, अनुर्वर हुँदैन भन्ने सोचाइलाई बालुवामै सबै कुरा देखिनु, बादलमै सबै कुरा भेटिनु जस्तो भइरहेछ’
भन्ने भाव व्यक्त गरेका छन् । मरुभूमि आफैमा विशाल समुद्र बनेको, त्यसको गतिले गन्तव्य खोजेको, गीत मिठो सङ्गीतमा मिसिएको र त्यसलाई हेरेर सूर्य पनि सम्मोहित बनेको लेखकलाई लागेको छ । खालिदिया कृषि फर्ममा जाँगरको अगाडि जिमाहामा पनि मार्सी धान फल्छ भन्ने उदाहरण साँचो बनेको छ । त्यसैले त लेखक हामीलाई हाम्रो देशमा सुन फल्ने ठाउँ पनि सुख्खा पारेर मिल्काइएको अवस्थातिर सङ्केत गर्छन् । नेपालीमा जाँगर र जिम्मेवारीको अभाव भएको निष्कर्ष उनको छ । उनी भन्छन्
“सजाउन जान्यो भने मोतीमा भन्दा बढी महक भेटिँदा रहेछन् मरुभूमिका बालुवाहरू ।”
साउदी अरबको अलखर्जका तारा खसेर भासिएको ठाउँ हेरेपछि लेखकले नयाँ सोचको पनि उद्घाटन गरेका छन्, स्थान परिवर्तन गर्नेहरू नयाँ अस्तित्वमा अनुवाद हुन्छन्, नयाँ बाटोमा बाँडिन्छन्, ठुलै परिवर्तन चाहनेहरू कि मज्जैले टुपिन्छन् कि खर्लप्पै भासिन्छन् । लेखकले सृष्टिमा आउने र जाने भइरहन्छ, जानेका लागि बिलौना गरि रहनु हुन्न भन्ने शिक्षा पाएको पनि “अलखर्जका तारा” निबन्धमा उल्लेख गरेका छन् ।
“फुजोराहमा फनफनी” शीर्षक निबन्धमा संयुक्त अरब इमिरेट्सका दृश्यहरू वर्णित छन् । त्यहाँको ट्राफिक व्यवस्थापनको चर्चा छ, मरुभूमिको चर्चा छ । मरुभूमिमा लेखकले प्रेमीरूपी घामले बालुवा कणलाई चुमेको शृङ्गारिक सन्दर्भ र मरुभूमिमा पनि हरियालीले ढाकेको बस्तीको वर्णन गरेका छन् । निर्वस्त्र पहाडलाई नेपालकै पहाडतिरका पहाडसित दाँज्दै यु.ए.ईको इतिहास केलाउँदै समुद्रका छालमा तृष्णा र तृप्तिका असीमित लहरमा खेल्दै जीवन र जगत्को परिभाषा खोज्दै गर्दा विचार र जाँगरले मान्छे खोँचबाट उचाइमा पुगेको देखेका छन् लेखकले । त्यसैले मरुभूमिको महक नजिकबाट सुँघ्दै अबुधाबीमा रहेर बालुवाको हरितक्रान्तिलाई आत्मसात् गरेका छन् र हाम्रो हरियालीको महत्त्व हामीले बुझ्नु पर्ने सुझाब पनि पेश गरेका छन् “मरुभूमि” शीर्षकको कवितासँगै ।
“थातथलामा गुन्गुनाइरहेका चित्र” शीर्षक निबन्धमा पनि “मरुभूमि र तिमी” शीर्षक कवितामा मरुभूमिलाई प्रेममा चुर्लुम्म डुबेर निर्वस्त्र लम्पसार परेकी युवतीसित दाँजिएको छ । शृङ्गारिक ध्वनि गुञ्जने यस कवितामा पनि कविका सकारात्मक सोच सल्बलाएका देखिन्छन् । सकारात्मक सोच नभए मरुभूमि कहाँ बन्थी र प्रेमिका? कहाँ बन्थ्यो र समुद्र सुन्दरता र सम्भावनाको पुञ्ज पनि । अनिश्चित र भ्रमपूर्ण हुँदा पनि जीवन बाँच्नुको मजा लिनु पर्ने भनौं त्यसमै जीवनको आनन्द पत्ता लगाउनु पर्ने लेखकको राय छ ।
“शून्यतामा खनिएको सुरुङ” निबन्धमा शुन्यतालाई, अँध्यारोलाई च्याप्दै अबुधाबी छोड्दै गर्दा लेखकले सोचेको कुरालाई प्रस्तुत गरिएको छ,
‘सबैभन्दा धेरै उज्यालो त अँध्यारोमै घुलिएको हुन्छ ।’
विमान भित्रका दृश्यलाई आँखामा कैद गरेर विश्लेषण गर्दै जाँदा शून्यताभित्रको सिर्जनामा लेखक डुबेको क्षणको प्रस्तुति छ । शून्यताको खोजीमा पाइने कोलाहल र त्यसप्रतिको सक्रियताबारे थुप्रै घटनाहरू यहाँ दर्शनसरह उपस्थित भएका छन् । लेखक त्यस बिचमा पनि असम्भव सम्भावनाको कल्पना गर्छन्, आकाशीय बस्ती र बगैंचाबारे । जे होस्, पाकिस्तान आइ पुग्दै गर्दा उनलाई शून्यता त सम्झना र सम्भावनाको गाढा सङ्गम लाग्छ । पाकिस्तान आउँदा उनलाई नेपालकै जस्तो प्रकृति, बेथितिले अपनत्वको महसुस गराएको छ । बेथितिमा बाँच्दाबाँच्दै बेथिति पनि त आफ्नै लाग्दो रहेछ भने झैं अनुभव हुन्छ पाठकलाई । इस्लामावाद काठमाडौं, नेपालगञ्ज वा रक्सौल भन्दा के नै पो फरक होला र भन्दाभन्दै पनि एकदम फरक देखेका छन् लेखकले । सायद उनलाई लागेको छ, ‘सत्य सधैंभरि एकै हुँदैनन्, समय र परिस्थितिको बशमा रङ फेर्छ सत्यले ।
सकारात्मक सोच फैजल मस्जिदको धार्मिक सहिष्णुतामा मात्र नभई मानव सभ्यताको सुरुआतमा आर्यले बस्ती बसाएको कुनै बेला बुद्धमार्गीको बस्ती र अध्ययनशाला रहेको र अहिले इस्लामीको बाहुल्य भएको इस्लामावादलाई प्राचीन र अर्वाचीनलाई जोड्ने सेतुको रूपमा देख्नुमा पनि आएको छ । अर्थ खोतल्दै तक्षिला वरिपरि घुुम्दा समस्या र दुःखको पहाडमा लुटपुटिन सक्नेले नै बढी सुखका अनुभूतिगर्ने कुरा पनि लेखकको मस्तिष्कमा आएको छ । जति नै महत्त्वपूर्ण र महान् क्षेत्र भए पनि सोचाइ महान् भएन भने न पुरातत्त्वको महत्त्व बुझिन्छ न त्यसको मूल्य । लेखकले तक्षिलाको महानताको प्रशस्ति गाएका छन् प्राचीन समाज र सभ्यताको झलक उभिएको पुरातात्त्विक महत्त्वले भरिभराउ भएको र महान् ऐतिहासिक व्यक्तित्वले स्पर्श गरेको स्थान भनेर तक्षिलालाई नमन गरेका छन् ।
इस्लामावादमा आफ्नो घर परिसरमा फूलको बाग बनाउने राम्रो चलन उल्लेख गरेर “रजनीगन्धाको रन्को” निबन्धमा हाम्रो देशका घर मात्र ठड्याउने विकृतिलाई व्यङ्ग्य गर्न खोजिएको छ । त्यति मात्र हैन, रावलपिन्डीलाई समेत लेखकले अल्छी घरको भण्डार, सिकारुको अमूर्त कला भन्न भ्याएका छन्, त्यसो त पाकिस्तानका मगन्ते, घनचक्कर युक्त सहर, निरङ्कुश शासन र बेलाबखत आतङ्क मच्चाउने समाचारले पनि यस निबन्धमा ठाउँ पाएका छन् ।
लेखकले “छिमेकको छनकमनक”मा पाकिस्तान र भारतको एकर्काप्रति शत्रुतापूर्ण व्यवहारलाई उल्लेख गर्दै यी दुईको पनि मित्रता कुनै दिन होला भन्ने कामना गरेका छन् । इस्लामावाद विमानस्थलमा भेटिएका वृद्धको निरस झम्टाइलाई र पछिल्लो उपदेशलाई आत्मीय मानेर लेखक निरसतालाई पनि पचाउन सके बुद्धिमान् बन्न सकिने दिव्य वाणीमा रमाएका देखिन्छन् । नयाँ दिल्लीलाई रुपैडिया जस्तो होला भन्ने ठानेका लेखकले झन् सफा, हरियालीपूर्ण र सुकिलो पाएका छन् । भारतमा आइ पुगेपछि उनलाई आफ्नै ममत्वको छाँयामा आइपुगे झैं लागेको रहेछ । दुर्गा मन्दिरबाट अन्धो आध्यात्मिकताको खोल फ्याँकेर मान्छेले यथार्थमा बाँच्नु पर्ने सन्देश पाठकलाई दिएका छन् । त्यसको सुकिलोपनामा आनन्दित बन्दै ‘प्रेमको आवाजमा उभिएको स्तम्भ’ कुतुब मिनारलाई सुम्सुम्याउन पुगेका लेखकले मिनार र धरहरामा हार्नेको पीडा नदेखिने भएपनि तिनीहरूबाट राम्रो लक्ष्यमा उभिनेहरू कहिल्यै नहार्ने सन्देश पाएको बताउँछन् ।
जे होस्, कुतुब मिनारलाई देखेपछि आफ्नो प्रेमिल क्षणको सम्झना गर्दै प्रेमको उच्चताको बखान गर्न सक्नुमा पनि लेखकको सकारात्मक सोच देखा पर्छ ।
अझ बहापुर गाउँको कमलपत्रे आकारको बहाइ मन्दिरमा रहेको धार्मिक सहिष्णुता र सबै धर्मको एकै सार हो भन्ने ज्ञान सुनेपछि, देखेपछि र महसुस गरेपछि लेखकले धर्मको आडम्बर हराए मात्र मान्छेको मूल्य निख्खर र सबल हुने निष्कर्ष निकालेका छन् । त्यति मात्र नभइ प्रेमको स्मारक आगरास्थित ताजमहल घुम्दा चाँदनी सुन्दरीसँगको भेट भएको अनुभूति गरेका छन् । आगरा पुग्नु अगावै केही तिता अनुभव भोग्नु परे पनि त्यहाँको दृश्यको रसास्वादन गरेपछि लेखक युद्ध केबल जितिन्जेलका लागि मात्र भएको तर प्रेमले जीवन पर्यन्त पालुवा फिँजाउन सक्ने निष्कर्ष निकाल्छन् र प्रेमको गुञ्जन भइ रहेको अनुभव पनि गर्दै प्रेमको कविता लेखेका छन् ।
भारतमा निम्न वर्गको पेसा अपनाएर बसेका नेपालीको हालत देखेर दिक्क लागे पनि लालकिल्लाको मोहकताले लेखकको दिलमा छिट्टै स्थान जमाएको देखिन्छ । लालकिल्लाको इतिहासका साथ जोडिएको भारतीय इतिहासका कतिपय पाटा उघार्दा उघार्दै लेखकले श्रीलङ्कातिर साइत गरेको देखिन्छ तर जहाँ गए पनि लेखकमा त्यहाँका जनप्रति आत्मीयता र सकारात्मक किसिमले सोच्ने, हेर्ने र त्यसलाई प्रस्तुत गर्ने खुबी रहेको देखिन्छ । उनी जुनजुन देश घुमे, त्यहीँ त्यहीँ जीवन र जगत्का सुन्दर पाटा देखे, सुनौला पाटा देखे र सँगसँगै हामी भित्रका सम्भावना पनि देखे । तिनैलाई कवितात्मक रङका निबन्धमा प्रस्तुत गरे । सकारात्मक सोच घनीभूत भएको प्रस्तुत निबन्ध सङ्ग्रह “नमेटिएका चित्रहरू” यात्रा साहित्यमा एउटा अमूल्य निधि बनेर नेपाली साहित्यमा थपिएको छ ।
निबन्धगत प्रवृत्तिहरू:
निबन्धकार किशोरका प्रकाशित दुई निबन्ध सङ्ग्रहको अध्ययन गरेपछि उनका निबन्धमा पाइने प्रवृत्तिलाई स्पष्टतः छुट्ट्याउन सकिन्छ ।
प्रणयको गीत गाउने किशोरको लेखनमा प्रणयका सुसेलीहरू भेटिन्छन् । समुद्र र घामको दृश्य होस् या बगैंचामा खेलेको हावाको स्पर्श, प्रकृतिका विविध पक्षमा प्रणयका गीत देख्ने र त्यसैलाई कृतिमा प्रस्तुत गर्ने खुबी उनको लेखनको एउटा प्रवृत्ति हो । प्रस्तुत “नमेटिएका चित्रहरू” निबन्ध सङ्ग्रहमा भारतमा ताजमहल र कुतुब मिनारको प्रसङ्गमा मात्र नभई पिरामिडको ज्योति र भूमध्य सागरको विशालताको चित्रणमा समेत प्रणयको गीत गाएका छन् ।
देशप्रेमको भाव:
किशोरको निबन्धात्मक प्रवृत्तिमा देशप्रेम पनि पाइन्छ । उनी विदेश भ्रमणमा रहेका बेला देखेका स्थान, स्थानीय सामान, संस्कृति, भूगोल आदिलाई स्वदेशका स्थान, भूगोल आदिसित तुलना गर्दै नेपाललाई सम्झन पुग्दछन् र तिनको तुलना पनि गर्दछन् । त्यस्ता विषयको चित्रणमा लेखक किशोर देशप्रेममा डुबेका देखिन्छन् । हाम्रा राम्रा, नराम्रा, बानी व्यवहार, आशा र सम्भावनाका तरेलीलाई पनि नमेटिएका चित्रहरू भित्रका निबन्धमा समेटिएको पाइन्छ ।
कवितात्मकता:
किशोर कुशल कवि भएका कारण निबन्धको भाषामा कवितात्मकता पाइनु नौलो होइन । उनको लेखनमा कवितात्मक गति र लयात्मकता पाइन्छ । ठाउँ ठाउँमा सन्दर्भगत रूपमा कविताकै उल्लेख गर्नु पनि उनको निजी प्रवृत्ति हो । काव्यिक भाषाका कारण स्वतः आलङ्कारिकताले पनि ठाउँ पाएको देखिन्छ ।
सूक्तिमयता:
साहित्यिक लेखनमा सूक्तिको प्रयोग हुनुले लेखनको विशिष्टता र बौद्धिकतालाई जनाउँछ । किशोरका निबन्धमा जीवन दर्शन प्रस्तुत गर्ने क्रममा होस् या दृश्यावलीको वर्णनकै क्रममा पनि सूक्तिमय भनाइ आएका पाइन्छन् । सार्वजनीन सत्य झैं लाग्ने ती सूक्तिमय भनाइले पनि उनको लेखनको खास प्रवृत्ति देखाएका छन् ।
आफन्तप्रतिको हार्दिकता:
परदेशमा यात्रारत हुँदा त्यहाँको रमझममा मात्र नभुली स्वदेशमा रहेका आफन्त र विदेशमा भेटिएका नेपाली प्रतिको अपनत्वको उल्लेख गर्ने प्रवृत्ति पनि किशोरको लेखनमा देखा पर्छ । आफूप्रति परिवार जनको व्यवहार र परिवारप्रतिको मायालाई घरिघरि मानसपटलमा ल्याएर निबन्धमा तिनको चर्चा गर्नु किशोरको निजत्व हो । खास गरी पत्नीप्रेम र सन्तानप्रतिको हार्दिकता उनका निबन्धका वस्तु बनेको पाइन्छ ।
तथ्यपरकता र यथार्थ वर्णन:
यात्रामा आफूले भोगेका घटना, दृश्यका अनुभूति, दृश्यप्रति स्वयम्को दृष्टिकोण, साहित्यप्रति साहित्येतर जगत्मा रमाउनेको हेराइ र सोच, साथीहरूको आफूप्रतिको व्यवहार, सरकारी कार्यालयका विविध खाले विकृति, विदेश गएपछि नेपालीले देखाउने चर्तिकला, यात्रामा साथीहरूले अन्य देशका केटीप्रति देखाएको चासो र दृष्टि, साथीहरूको सुराप्रेम, कुटनीतिज्ञको कहिले चाकडीयुक्त कहिले अप्रत्यक्ष धम्कीयुक्त बोली, आफू अन्जान बन्दा पाएको पीडा, आफ्नो अनभिज्ञताका कारण अरुको हास्य पात्र बन्नु परेको अवस्था, कुटनीतिका क्षेत्रमा काम गर्नेको गुनासो, ठुला ओहोदामा बस्नेको बलमिच्याइँ आदिलाई जस्ताको तस्तै प्रस्तुत लेख्न सक्नु लेखकको लेखन शक्तिको उदाहरण पनि हो । यसले किशोरलाई निर्भिक लेखक बनाएको छ । उनको अघिल्लो निबन्ध सङ्ग्रह “यात्राका प्रेमिल तरङ्गहरू”मा पनि यस प्रकारको प्रवृत्ति देखा परेको छ ।
पाठकमाझ धेरै सूचना सम्प्रेषणको चाहना:
यात्रा निबन्धले केबल यात्राका विवरण मात्र दिए लेखन दिक्क लाग्दो हुन्छ तर निबन्धकार किशोरले जुन देशको यात्रा गरे, त्यस देशको सांस्कृतिक, ऐतिहासिक र भौगोलिक अवस्थाको बारेमा पाठकले धेरै भन्दा धेरै सूचना पाउन् भन्ने आशय राखेर वर्णन गरेको पाइन्छ तर यसरी वर्णन गर्दा त्यो केबल विवरण मात्र नभएर लेखकको निजी शैलीमा कवितात्मक बनेर प्रस्तुत भएको पाइन्छ ।
जीवनदर्शनको प्रयोग:
निबन्धकार किशोरको लेखनमा भरपुर मात्रामा जीवनबारे लेखकका दृष्टिकोणहरू आउँछन् । उनका यसअघि प्रकाशित कविता सङ्ग्रह र निबन्ध सङ्ग्रहमा जस्तै यस सङ्ग्रहमा पनि जीवन र मृत्युका सन्दर्भहरू आएका छन् । मृत्युको शाश्वतता र जीवनको मोहकता प्रस्तुत गर्दै जीवनका विसङ्गति र विसङ्गतिभित्र अस्तित्वको खोजतर्फ प्रवृत्त हुनु पर्ने मान्यता उनका प्रत्येकजसो निबन्धले समेटेका छन् । सकारात्मक सोचका साथ जीवन दर्शनको प्रस्तुति पनि उनको निजत्व भित्र पर्दछ ।
हास्य चेतना र व्यङ्ग्य:
निबन्धकार किशोरको लेखनमा प्रायः भावुकता र संवेदनशीलता पाइन्छ तापनि कतै हास्यचेतको प्रस्तुति पनि उनको लेखनको एउटा पक्ष हो । हास्यचेत त्यति घनीभूत रूपमा नआए पनि कुनै कुनै प्रसङ्गमा पाठकलाई हँसाउन सक्ने गरी आएका छन् । निःशुल्क ठानेर सशुल्क खाना खाएर तिर्नुपर्दाको प्रसङमा, इजिप्टमा गधा शब्दको अर्थ राम्रो भन्ने आएको प्रसङ्गमा, पाकिस्तानका झिँगा प्लेन चढेर भारत आएको प्रसङ्गमा, सुडानी कर्मचारीको नाम मुसा भएको बारेमा पढ्दा हास्यचेत आएको छ भने कतै कतै व्यङ्ग्यका वाण पनि प्रस्तुत भएका छन् तर व्यङग्य हास्यका साथ नलागी गम्भीर र संवेदनशील भाषा र भावका साथ प्रस्तुत भएको पाइन्छ । खास गरी नेपालको अस्तव्यस्त राजनीतिक व्यवस्था र असरल्ल सहरीकरण, नासिँदै गएको वन, नेपालीको अल्छी व्यवहार र द्वन्द्वग्रस्त परिवेशको उल्लेख गर्दै सन्दर्भानुसार त्यसप्रति व्यङ्ग्य गरिएको पाइन्छ ।
सूचनात्मकता:
प्रस्तुत सङ्ग्रहले खाडी र दक्षिण एशियाली राष्ट्रका बारेमा पाठकलाई प्रशस्त सूचना पनि दिएको छ । विशेष स्थलको भ्रमणको वर्णन गर्दा त्यहाँको इतिहास, संस्कृति, भूगोल, भौतिक विकास, आर्थिक अवस्था, वातावरण इत्यादिबारे यथाशक्य सूचना दिइएको छ तापनि सूचना दिने लोभले निबन्धलाई विवरणको भारी बनाइएको छैन । ती सूचना सन्दर्भानुकूल प्रस्तुत गरिएको छ । उनको अघिल्लो सङ्ग्रहमा भन्दा यस सङ्ग्रहका निबन्धमा नेपाली दूतावासहरूले खाडी राष्ट्रमा पिल्सिन बाध्य नेपाली श्रमिकका लागि खासै सहयोग गर्न नसकेको, नेपाली भन्ने बित्तिकै कुटनीतिक तहमा समेत हेपाइ सहनु परेको, नेपाली श्रमिकले चर्को गर्मीमा विना कुनै व्यवसायजन्य स्वास्थ्य र सुरक्षा काम गर्नु परेको, त्यसरी काम गर्दा समेत अनेक समस्याबाट गुज्रनु परेको अवस्थाका कुराहरू वण्र्य विषय बनेर आएका छन् ।
निष्कर्ष:
समग्रमा, नमेटिएका चित्रहरू निबन्ध सङ्ग्रहका सबैजसो निबन्धमा सकारात्मक सोचको प्रस्तुति भएको पाइन्छ । देश र विदेशका स्थान र अनुभूतिलाई तुलना गर्दै नेपालका प्राकृतिक स्रोतहरूको परिचालन गरेर देशलाई धनधान्यपूर्ण बनाउन सफल भइने कुरालाई प्रत्येक जसो निबन्धमा व्यक्त गर्दै पुडासैनीले स्वदेशप्रति सकारात्मक सोच ल्याउन पाठक समक्ष आग्रह गरेका छन् । त्यसै गरी सन्दर्भपिच्छे जीवन सम्बन्धी पनि सकारात्मक सोच प्रस्तुत भएको पाइन्छ । खास दृश्यावलोकनका क्रममा उनले जीवनलाई रहस्यमय, कठिन तर रोमाञ्चक, मृत्युसाथ रहेको र यसलाई प्रकृति सम्मत मान्दै त्यसमा रम्न रमाउन आग्रह गरेका छन् । वास्तवमा धर्तीको रहस्यमय अवस्था, विविधता, ऊर्जस्विता, उत्पादकत्व र जीवनदायिनी शक्तिलाई आत्मसात् गरेर त्यसको वर्णन गर्न सक्नु र मान्छेले गरेका उन्नति र प्रगतिका शिखरलाई हार्दिकतापूर्वक अनुभूत गर्न पनि आफूभित्र सकारात्मक सोचको प्रबलता हुनु पर्छ । लेखकले यस सङ्ग्रहका निबन्धमा आत्मपरक ढङ्गले त्यसको व्याख्या गर्दै पाठकलाई पनि तदनुरूप बगाउन सफल भएका छन् । सरल र सहज भाषाशैलीले गर्दा पाठकलाई एकोहोरो तानिरहन सफल यस सङ्ग्रहका निबन्धहरू सबै पठनीय छन् । समग्रमा यस सङ्ग्रह उत्कृष्ट यात्रा निबन्ध सङ्ग्रह बनेको छ ।
•।| इति |।•
अनुपमा रेग्मी
पद्मकन्या बहुमुखी क्याम्पस