हरिश कल्पित नेपाली साहित्यको इतिहासमा स्थापित नाम हो ! साहित्यको कथा विधामा उनको उपस्थिति दर्विलो रहेको पाइन्छ ! २०५७ सालमै पहिलो कृतिका रुपमा “आस्था” कथा सङ्ग्रह लिएर साहित्यको बाटोमा हिंड्न थालेका कथाकार कल्पितका लेखन पाइला त्यसपछि पनि रोकिएनन् ! विभिन्न साहित्यिक पत्रपत्रिकाहरुमा उनका कथाहरु आइरहे ! पाठकहरुका नजरमा परिरहे उनी ! उनको कथाकार व्यक्तित्व त आस्थाबाट नै निर्माण भैसकेको थियोे ! उनको कथा लेखनको ग्राभेल बाटोमा अलकत्रा थपेर पिच गर्ने काममा भने उनका फुटकर कथाहरुले योगदान गरिरहे ! यसर्थ पनि उनका कथाहरु निखारिन पाएका हुन् !
२०७७ सालमा भने उनको दोस्रो कथाकृति आयो “ग्याब्रियले” नाममा ! उनका कथाहरु पढिरहँदा उनका बिचारहरु, उनको लेखन शील्प पनि पढ्न पाइन्छ ! उनका कथाहरुले सजिलै छुन्छन् पाठकहरुलाई ! उनले मानव जीवनका सानासाना घटनाहरुलाई पनि मिहिन रुपमा खिपेका छन् कथामा ! मानवीय सम्बन्धको जटिलता र सुख – दु:खका अनुभूतिहरू नै हरिश कल्पितको कथाकारिताको मेरुदण्ड हो ! उनी आफ्ना पात्रहरु मार्फत पाठकको मन, मस्तिष्कमा गहिरो छाप छोड्न सफल रहेको कुरा उनका कथाहरू पढिसक्दा थाहा हुन्छ !
उनको कथा सङ्ग्रह “ग्याब्रियले” भित्र मध्यम आकारका १३ वटा कथाहरु सङ्कलित छन् ! विभित्र बिषयबस्तुका कथाहरू पढिरहँदा पाठकलाई कतै पनि दिक्क लाग्दैन बरु सोच्न विवश हुन्छ पाठक ! सङ्ग्रह भित्रको पहिलो कथा हो – मोहभङ्ग ! यस कथामा लक्ष्मी, सुवेदार्नी बज्यै, खर्दार्नी बज्यै, आमा, गोपाल, गोविन्द, सुभद्रा जस्ता पात्रहरु रहेका छन् ! सानो देवरलाई छोरा सरह हुर्काएकी भाउजू लक्ष्मीलाई आदर्श पात्रको रुपमा उभ्याएर देवरको विवाहपछि देवर देउरानीले लक्ष्मी र उनका पति गोपालमाथि गरेको तुच्छ व्यवहारले गर्दा कथालाई मर्मान्तक बनाएको छ ! पारिवारिक मेलमिलाप कायम रहन सबै सदस्य जिम्मेवार हुनुपर्छ भन्ने यस कथाले पाठकलाई मज्जाले छुन्छ !
“बिहे” दोस्रो कथा हो ! अमिना, असिमा र रञ्जन मुल पात्र रहेका छन् ! अमेरिकाबाट आएको कम्प्युटर ईन्जिनियरसँग अमिनाको बिहे हुन लाग्दा खुसीको आकाशमा पुगेको परिवार बिहेपछि स्वास्थ्य जाँच हुँदा अमेरिकी बेहुलालाई एड्स लागेको थाहा भएपछि परिवारका सबै सदस्यको अनुहारमा वेदनाको बादल मडारिन थाल्छ ! बिहे गर्दा गराउँदा धेरै कुरा बिचार गर्नुपर्छ, पढाइको प्रमाणपत्र हेर्नु भन्दा स्वास्थ्य परीक्षणको प्रमाणपत्र हेर्नुपर्छ भन्ने सन्देश बोकेको यस कथा पठनीय छ !
तेस्रो कथा “पुष्पलता” की मुल पात्र पुष्पलता र अनुराग मार्फत कथाकारले मानिस बाहिर चुलबुले र रमाइलो देखिए पनि उभित्र कस्ता कस्ता उदासीका पाटाहरु हुन्छन् भन्ने रहस्योद्घाटन गरेका छन् ! क्यान्सर जस्तो भयानक रोगबाट ग्रसित हुँदा पनि त्यसलाई आफूभित्र दवाएर बाहिर बाहिर खुसी देखिनु कति ठूलो मानवीय अभिनय हो अनुरागको ! यो कथा साँच्चै सफल रहेको छ !
चौथो कथा हो “मोहजाल !” शीर्षक नै आकर्षक रहेको पाइन्छ ! समयको हुरीद्वारा बगरमा मिल्काइएको एक्लो पात्रको कथा हो मोहजाल ! माया प्रेमको जालमा परेर सुखद दाम्पत्य जीवनमा प्रवेश गरेपनि श्रीमान वा श्रीमतीको अनुपस्थितिमा बाँकी एकल जीवन कति दुखदायी हुन्छ भन्ने ईशानको एकाकीपनले देखाउँछ ! ईशान, उष्मा र अतुल जस्ता पात्रको उपस्थितिले कथा पठनीय बनेको छ !
पाचौं कथा हो – उहाँहरु आउनुभो मम्मी ? गृष्मा र बिक्रमको असफल प्रेमको कथा हो यो ! आफ्नो प्रेमी बिक्रम दुर्घटनामा परेपछि मानसिक सन्तुलन गुमाएकी गृष्माको प्रतीक्षाको कथाले पाठकलाई भित्रैसम्म छुन्छ ! यो हृदय स्पर्शी कथा हो !
“ग्याब्रियले” यो सङ्ग्रह भित्रको छैटौं कथा र सङ्ग्रहको शीर्षक कथा पनि हो ! यो बिदेशी भावभूमिमा सिर्जित कथा हो ! थोमस र मिकाको विघटित पारिवारिक जीवनको कथा हो यो ! युरोपेली पति थोमस र जापानी पत्नी मिकाको वैवाहिक जीवनमा आएको समस्याबाट जन्मिएको यस कथाबाट समयको वेगमा दौडिरहेको यान्त्रिक जीवनमा पारिवारिक दायित्व र व्यक्तिगत सुखसयलले कत्ति पनि महत्त्व पाउँदैन भन्ने सन्देश बोकेको यो कथा गम्भीर, नवीन र मौलिक पनि छ ! कथाकारको भनाइ अनुसार ग्याब्रियलेको शाब्दिक अर्थ – ईश्वर नै मेरो शक्ति हो ! अर्थात यस कथाले ईश्वरीय शक्तिको मान्यतालाई आत्मसात गरेको पाइन्छ !
“मेरी प्यारी छोरी” पनि सन्देश बोकेको पठनीय कथा हो ! यो सङ्ग्रहभित्रको सातौं कथा हो ! बच्चा पेटमै हुँदा छोरा हो कि छोरी हो, पत्ता लगाएर छोरा रहेछ भने मात्रै जन्माउने अहिलेको स्वार्थी प्रचलनलाई ब्यङ्ग्य गरिएको यो कथालाई समसामयिक कथाका रुपमा लिन सकिन्छ ! अन्तमा छोराछोरी जे भए पनि जन्माउने दीपाको अठोटले कथा सकारात्मक रुपमा अन्त्य भएको छ !
व्यक्ति, परिवार, समाजका यावत घटनाक्रम माया, प्रेम, बिछोड, सुख, दुःखका सम्बन्धहरुलाई कथाको मालामा उनेर जीवन दर्शन पस्कनु र पात्रका सूक्तिमय भनाइमार्फत जीवन्त कथा सिर्जना गर्नु कथाकारको विशिष्ट लेखकीय शक्ति हो ! यसै पृष्ठभूमि र कथावस्तुमा लेखिएका “बधाई छ देवयानी”, कृष्णसर, अनिमा, केईको सेनसेई, भ्रमजाल र एडमको प्रेम जस्ता कथाहरू पनि पठनीय बनेका छन् !
हरिश कल्पितका कथाहरुको मूल भाव प्रेम नै हो ! मानवीय सृष्टिको आधार नै प्रेम हो भन्ने कुरालाई लेखकले आत्मासात गरेको पाइन्छ उनका कथाहरु पढिरहँदा ! १० वटा नेपाली समाजका र तीनवटा ( ग्याब्रियले, केईको सेनसेई र एडमको प्रेम ) विदेशी समाजका कथाहरुले सङ्ग्रहलाई पठनीय बनाएका छन् !
पाठकहरुको मनमा प्रश्न पनि उठ्न सक्छ, के हरिश कल्पितका कथाहरु कमजोरी रहित छन् ? स्वभाविक पनि हो ! हरेक व्यक्ति समय क्रमसँगै केही न केही सिकिरहेको हुन्छ ! आफूलाई र आफ्नो लेखनलाई परिमार्जन गरिरहेको हुन्छ ! तीन दशक यताका कथाहरु समेत समावेश भएको कारण कतिपय घटनाक्रमले परिमार्जनको माग गर्न सक्छन् पाठकको दृष्टिकोणले हेर्दाखेरि ! कथामा रहेका व्याकरणका कमजोरीहरुलाई नियाली अर्को संस्करणमा हटाउने हो भने यो कथा सङ्ग्रह नेपाली कथा साहित्यको इतिहासमा उल्लेखनीय भइरहनेमा विश्वस्त हुन सकिन्छ !
वागमती ११, कर्मैया, सर्लाही