नेपाली उपन्यासको क्षेत्रमा कुमार काफ्ले देखापरेका छन् । उनको “हजार सपना” नामको औपन्यासिक कृति २०७२ सालमा प्रकाशित भएको छ । उपन्यास लेखन समकालीन नेपाली साहित्यको लोकप्रिय विधा बनेको छ । धेरैले पढ्न रूचाउँछन् उपन्यास । धेरैले पढ्न रूचाउने विधा भएकाले केही वर्ष यता थुप्रै औपन्यासिक कृतिहरू प्रकाशित भएका छन् । साहित्यको बजार नै उपन्यासले तताएको छ भन्दा पनि अत्युक्ति नहोला । धेरै लेखकहरूले उपन्यास लेख्न रूचाएका छन् । जुन प्रशंसनीय छ ।
“हजार सपना” उपन्यासमा प्रयोग भएको शैली नौलो र रोचक छ । भाषामा मीठासपत्र छरपष्ट छ । आफ्नै गाउँघर शीर्षकभित्र काठमाडौं फर्कने दिन नजिकिदै थियो, गाउँमै खुलेको पुस्तकालयमा जानुपर्यो भनी रमेश घरबाट निस्कियो, बाटैमा गोपाल भेटियो, अनोज र बलवीरलाई फोन गरेर बोलाएर उनीहरू अगाडि बढे भनेर लेखिएको छ ।
यो उपन्यासमा नेपाली समाजमा चल्ने उखान टुक्काको पनि राम्रो सदुपयोग गरिएका छन् । विदेसिएका सपना शीर्षकभित्र चाउचाउको जस्तो चारपाटे मुख नथुनिएको कार्टुन, त्यसभित्र अमेरिकन इगल र काऊ व्वाय जिनको पाइन्ट १, १ थान २ थान टी सर्ट सेतो रङ्को स्त्रीले छातीमा लगाउने चश्मा, कट्टु आदि छेउमै राखेर टुक्रुक्क बसेका इन्डोनेशियन भर्खरका देखि अधवैशे युवतीहरू । ती सबै ठूला र रङ्गीन सपना देख्दै पसिना बेच्न आएका होलान् भन्ने अड्कल गर्न सकिन्थ्यो । बलवीर मनमा यस्तो कुरा खेलाइरहेको थियो भनेर यस उपन्यासमा काफ्लेले लेखेका छन् ।
उपन्यासभरि राग छ, विराग छ, समलिङ्गी सम्बन्धको झल्को छ, पराजय छ, पीडा छ, धोका छ, तैपनि उपन्यासकार काफ्ले अत्यन्त संर्यामत भएर आफ्नो अभिव्यक्तिलाई सन्तुलित राख्दछन् । आफूले भोगेको, देखेको र अनुभूत गरेको ग्रामीण जनजीवनका असन्तुष्टि पीडा र प्रताडना एवम् आवश्यकता, चाहना र परिपुर्तिका घटना परिघटनालाई विभिन्न आठ आख्यात्मक अध्यायको बान्कीमा वडो रोचकता साथ संश्लेपित गरिएको यस कृतिमा स्वमूल्य, स्वमान्यता र स्वधर्मिताको मूल्यचेतनलाई समेत उद्बोधन गरिएको छ ।
यस उपन्यासमा समाजमा विद्यमान समस्या र विसङ्गतिले सचेतन मनलाई छोएको छ। उपन्यासकार काफ्लेलाई पनि छोयो । रङ्गीन सपनाभित्र प्रियाका कलेजका प्राय सबै केटी साथीहरूका व्याइफ्रेन्ड थिए । उनीहरू अनेक किसिमका रमाइला कुराहरू गर्थे, कहिले नगरकोट, कहिले धुलिखेल त कहिले पोखरा घुम्न जान्थे । साथी संगीका यस्ता कुरा र सङ्गतले प्रियाले पनि आफ्नो विगत सम्झन पुग्छे । मानिसको अतीतमा हराउने, रमाउने र नोस्टाल्जिक हुने आदिम बानी हो । उपन्यास पढ्दै जाँदा रोचक लाग्छ ।
उपन्यासकार काफ्लेले समयको एउटा साँघुरो आँखीझ्यालबाट जीवनका थुप्रै आरोह अवरोहहरू छिचोल्दै एउटा सुखद भविष्य बनाउँदै छन् । सामाजिक विसङ्गति र इर्ष्याका अग्ला अग्ला पहाडहरू भत्काएर प्रतिशोधका ज्वालामा आँधीहुरीबाट सङ्घर्षका पाइलाहरू बोकेर उभिएका यी आख्यानकार सपनाहरूको मन बोकेर शिखर आरोहणको क्रमिकतामा छन् । सपनाहरूको अन्त्य शीर्षकभित्र विदेशी भूमिमा रगत, पसिना बगाएर उज्ज्वल भविष्यको आशामा दिनरात खटिरहेका लाखौंको मानवसागरमा अनोज, बलवीर र रमेशहरू मिसिएका पनि दुई वर्ष हुन लागेछ । जहाँ भए पनि जता गए पनि उनीहरूको आफ्नै कथा, व्यथा छ भनेर यस उपन्यासमा वर्णन गरिएको छ । उपन्यास जीवनको जीवन्त भोगाइ लाग्छ ।
उपन्यासमा पवित्र धाम देवघाटको, त्यहाँको वातावरणको सुन्दर र यथार्थ वर्णन छ । देवघाटमा थुप्रै माईहरू हुनुहुन्थ्यो । चालीस पैतालीस उमेर काटेकादेखि लिएर हाम्री हजुरआमाका उमेरका माईहरू पनि देखिन्थे तर मेरो मनले खोजेको मेरी आमालाई कतै देखिरहेको थिइनँ । आँखाले आमा खोजिरहेका थिए । कुमार काफ्लेले लेखेका छन् । जीवन भोगाइका थुप्रै अनुभूतिहरूको एउटा सिङ्गो पहाड हो आख्यानकार काफ्लेको “हजार सपना” । समयको थुप्रै उतार चढाव र भोगाइका शृङ्खलाहरू जोडिएका मान्छेले भोगेका जिन्दगीका कैयौं पीडाहरूको दस्तावेज पनि हो यो उपन्यास ।
समग्रमा यो उपन्यास पठनीय छ, एउटा समयखण्डको चित्रण छ जुन कैयौं वर्ष अझै यही समय हो कि झैं आभास हुन्छ । सबैभन्दा लेखकको मजबुत पक्ष भनेको एउटा विषयको घाँटी अठ्याएपछि अन्त्यसम्म पनि घाटी नछोडी उपन्यासलाई टुङ्ग्याउनु हो । यो विशेषता थोरै मात्र साहित्यकारमा पाइन्छ । प्रायः साहित्यकारहरूले कथावस्तुलाई घुमाएर वा सान्दर्भिक भन्दा भिन्न कुरा लेखेर पुस्तकको पृष्ठ बढाउनमा केन्द्रित भएका हुन्छन् । उपन्यासका शब्दहरू सरल, सहज र अत्यन्त व्यवहारिक भएकोले जुनसुकै हैसियतका पाठकले पनि बुझ्न सक्ने र पचाउन सक्ने खालका छन् । उपन्यासका सकारात्मक पात्र जो उपन्यासमा समेटिएका छन् ती शुरूदेखि अन्तसम्म कौतुहलता जन्माउन सफल मात्र नभएर एउटा पात्रले अर्को पात्र सामु सानो भएकाले मर्यादाका सुकुमार शब्दहरू पस्केर आदरपूर्वक सम्मान दर्शाउनु अर्को सफल पक्ष मान्न सकिन्छ । भाषा सरल र स्पष्टता, शैलीको रोचकतालाई राम्रो मान्नैपर्छ ।
यस उपन्यासको अन्त्यमा समयसँगै सपनाहरू पनि कहिले दौडिदै कहिले घस्रिदै अघिपछि गर्दै अघि बढिरहे भनिएको छ । आधुनिक नेपाली उपन्यासको आरम्भ नै “रूद्रराज पाण्डे”को “रूपमती” उपन्यासवाट भएको हो । “रूपमती”ले अघि सारेको आदर्शोन्मुख यथार्थवादी औपन्यासिक चिन्तन-धारालाई “हजार सपना”ले प्रष्टसँग पछ्याउँदै केही नवीन चेत पनि पस्केको छ ।
पुस्तकः हजार सपना (उपन्यास, २०७२)
लेखकः कुमार काफ्ले,
प्रकाशकः शब्दार्थ प्रकाशन, काठमाडौं ।