Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

कविता: घृणा

असार १९, २०८२

छोटो कथा: अँध्यारोतर्फको यात्रा

असार १८, २०८२

निबन्ध: ॐ को प्रभावबारे धर्म र विज्ञान के भन्छ?

असार १८, २०८२

कथा: घरको मृत्यु

असार १७, २०८२

पुस्तक समीक्षा : “उपद्रष्टा हर्कमान तामाङका पाना पल्टाउँदै जाँदा”

असार १४, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » समालाेचना: ‘मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे’ कविता सङ्ग्रहको प्राज्ञिक विश्लेषण र मूल्याङ्कन

समालाेचना: ‘मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे’ कविता सङ्ग्रहको प्राज्ञिक विश्लेषण र मूल्याङ्कन

पुस्तक चर्चा: समालाेचना
डा. सुनिला गुरुङडा. सुनिला गुरुङमंसिर १९, २०८१853 Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

डा. सुनिला गुरुङ
सह प्राध्यापिका
नेपाली विभाग, सिक्किम अल्पाइन विश्वविद्यालय

▪ साहित्यविद् डा. दामोदर पुडासैनीको परिचय

नेपाली साहित्य जगतमा वरिष्ठ साहित्यकार डा. दामोदर पुडासैनी किशोर मूलत: कवि र नियात्राकारका रूपमा परिचित छन्। नियात्रा र कविताका क्षेत्रमा लेखकले दिनुभएको योगदान अतुलनीय छ। उनी समकालीन नेपाली साहित्य लेखनमा सक्रिय छन्। कविको लेखनले समकालीन नेपाली काव्य लेखन र नियात्रा लेखनमा फरकपन र नौलो आयाम ल्याएको देखिन्छ। साहित्यकार डा. पुडासैनीले कविता विधामा झैँ थुप्रै नियात्रा सङ्ग्रहहरू प्रकाशित गरेर यस क्षेत्रमा पनि अतुल्य योगदान पुऱ्याएका छन्।“दृश्य र अनुभूतिलाई चमत्कारपूर्ण ढङ्गमा अभिव्यक्त गरिनुपर्दछ भन्ने मान्यता राख्छु” भन्ने आफ्ना विचारलाई लेखकले नियात्रा साहित्य लेखनमा उतार्न सफल बनेका छन्। ग्रीष्मको नीलो बतास र सिमानाको रङ्ग: सिमानाको तरङ्ग नामक नियात्रा कृति मदन पुरस्कारको श्रेष्ठ सूचिमा परेको थाहा लाग्द्छ। नेपाली नियात्रा साहित्यको ढिकुटीलाई समृद्ध बनाउनुहुने डा. पुडासैनीको यस प्रवृत्तिका कृतिहरू माथि अनुसन्धानमूलक अध्ययन हुनु आवश्यक छ। डा. पुडासैनीले नेपाल संस्कृत विश्वविद्यालयबाट कम्प्यारेटिभ स्टडी अफ एनसेन्ट एन्ड मोर्डन गभर्मेन्ट अडिटिङ सिस्टम (प्राचीन तथा अर्वाचीन परिवेशमा सरकारी लेखापरीक्षण पद्धतिको अध्ययन) जस्तो नवीन विषयमाथि शोधपरक कार्य गरी विद्यावारिधि प्राप्त गरेका हुन्। आफ्नो शोधप्रबन्धमा डा. पुडासैनीले प्राचीन कालदेखि वर्तमान सम्मको लेखापरीक्षणको विकासको विश्लेषण गरी आगमी दिनमा लेखापरीक्षण क्षेत्रमा गर्नुपर्ने सुधारहरूबारे पनि अध्ययन गरिएको पाइन्छ। लेखापरीक्षण विषय माथि गरिएको यो नेपालकै पहिलो शोध कार्य मानिएको छ। उनी लेखापरीक्षण क्षेत्रमा नै सैतीस वर्ष कार्यरत रही नेपाल सरकारको उच्च पद नायव महालेखापरीक्षक पदबाट केही समय अघि सेवा निवृत्त भइसके पनि हाल सिर्जनात्मक लेखनको अलावा राष्ट्रिय तथा अन्तर्राष्ट्रीय सँस्थाहरूमा लेखापरीक्षण , अर्थ र ब्यबस्थापन बिषयमा बिज्ञको रूपमा अतुलनीय योगदान पुर्याईरहेका छन् ।

सामाजिक, साहित्यिक, सरकारी, सांस्कृतिक क्षेत्रबाट प्रशस्त सम्मान, अभिनन्दन र पुरस्कारले विभूषित बनिसकेका डा. दामोदर समकालीन कविता र नियात्राको क्षेत्रमा सक्रिय स्रष्टाका रूपमा स्थापित हुनुहुन्छ। उनी साधना गरेर कविता लेख्ने समूहमा पर्छन्। उनका कविताहरूको अध्ययन गर्दा साधना गरेर लेखिएको अनुभूति पाठकलाई हुन्छ।

कविका हालसम्म जम्मा एघारवटा कविता कृतिहरू प्रकाशित छन्। ती यसप्रकार छन्-

1. आफन्तका अनुहारहरू
2. आँखाको खोजीमा
3. आलोकित आयाम
4. आकारको खोजीमा
5. समयको सहीछाप
6. पहाड र प्रेम
7. उज्यालो खोजिरहेको घाम
8. सहरविनाको सहर
9. हिमालको आवाज
10. निर्वस्त्र घाम र लोलाएको साँझ
11. मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे

त्यसबाहेक डा. पुडासैनीको सात नियात्री सँग्रह र एक दर्शन कृतिपनि प्रकाशित छन् । ती सबै कृतिहरू नेपाली साहित्य आकाशमा निकै चर्चित छन् ।

▪ ‘मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे’ कविता सङ्ग्रहको प्राज्ञिक विश्लेषण र मूल्याङ्कन

‘मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे’ नामक कवितासङ्ग्रह वि सं २०८१( इ सं २०२४) मा रत्न पुस्तक भण्डार, काठमाडौँबाट पहिलो संस्करणको रूपमा प्रकाशनमा आएको हो। कविका कविता कृति लेखनमा उक्त कवितासङ्ग्रहले एघाह्रौँ नम्बरमा पाइला टेकेको पाइन्छ। यस लेख शुरू गर्नुभन्दा अघि पश्चिमेली लेखक लियो स्पिटजरको समालोचकीय विचारलाई यहाँ राखिन्छ-
“कृति वा रचनामा लेखकको उद्देश्य खोजेर पत्तो पाइने कुरो होइन, किनभने प्राय: लेखकलाई नै उसले कृतिको रचना गर्दा उसको उद्देश्य के थियो भन्ने कुरा साँच्चैमा चाहिँ थाहा हुँदैन। साहित्यिक कृति लेखकको सचेत प्रयास र उद्देश्यबाट भन्दा अवचेतनबाट जन्मेको हुन्छ। अत:उसले जे लेख्न सोचेको थियो त्यसभन्दा बेग्लै कुरा कृतिले बोक्ने गरेको हुन सक्छ। प्रत्येक व्यक्तिका आ-आफ्ना भाषिक सामर्थ्य रहने हुँदा प्रत्येक कृतिको अर्थ्याइ र बुझाइमा पनि व्यक्तिपिच्छे भिन्नता रहने हुन्छ।”
यही विचारको सन्दर्भमा कविताहरूलाई पठन गर्दा कविका विचार र उद्देश्यसम्म त पुग्न नसकिएला तर पाठकीय दृष्टिले भ्याएसम्मका विषयवस्तुलाई राखेर यहाँ अध्ययन गरिने चेष्टा भएको छ। यस कविता कृतिको भूमिकाहरूमा सङ्ग्रहितकविताहरूको गहन अध्ययन भएको छ जसले यस पुस्तकको नव पाठकलाई कविका कविताहरूलाई बुझ्न र मनन गर्न सहज र सहयोग प्राप्त हुन्छ । उपयोगी भूमिकामा डा. कृष्णराज घतानीले कविको काव्यप्रवृत्ति संगै कविताभित्र रहेका काव्य तत्त्वहरूको अध्ययन गरेका छन्। उक्त भूमिकामा डा. घतानीले “कविका सङ्कलित कविताहरूमाथि गहन, काव्यिक र प्राज्ञिक विश्लेषण र मूल्याङ्कन हुनुपर्छ” भन्ने विचार व्यक्त गरेका छन्। भूमिकाकारको यही विचारलाई आत्मसात गरी कविका कविताहरूलाई अध्ययन गर्ने जमर्को यस लेखमा गरिएको छ।

‘मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे’ कृतिभित्र जम्मा त्रिपन्नवटा कविताहरू सङ्ग्रहित छन्। कविताको आठौँ शीर्षकले पुस्तकको नाम वरण गरिएको छ। कविले संयुक्त राज्य अमेरिकाको पटक पटक भ्रमण गर्ने क्रममा अमेरिकालाई विभिन्न कोणबाट नियालेर साहित्यिक सिर्जनाहरू गरिएको पाइन्छ। यस अन्तर्गत कविको उक्त कृति पनि अमेरिकेली भ्रमणको सुन्दर उपज हो भनेर मान्न सकिन्छ। अमेरिकालाई नै आधार बनाएर विभिन्न विम्बहरू जोडेर कविताहरू रचिएको छ। अमेरिकामा रहँदाको अनुभव, हेराइ, बचाइँ र जीवन बुझाइलाई आफ्ना कवितामा शिल्पगत रूपमा व्यक्त गरिएको छ। कविताहरू अमेरिकाको विविध विषयसँग सम्बन्धित छन्, जस्तै- अमेरिकी परिवेश, अमेरिकी सभ्यता, अमेरिकी आधिपत्य र युद्धले विश्वमा परेको प्रभाव र परिणाम, अमेरिकाको वैश्विक वर्चस्व र त्यसबाट जन्मिएका सङ्कट एवम् पीडामय जीवनको चित्रण, भौतिक सुख सुविधा, यान्त्रिक जीवन, अमेरिकेली पुँजीवादी संस्कार/संस्कृति, अमेरिकन पर्यावरण आदि। यसका अतिरिक्त कविका कविताहरूमा अनुभूतिको सूक्ष्मता, संवेदनाको गहिराइ, सौन्दर्यचेतनाको मिठो संयोजन, आत्मप्रकाशन, मानवतावादी स्वर, फरक किसिमका विम्बहरूको प्रयोग, नेपाली काव्य जगतको नयाँ विषय र नयाँ शैलीको प्रयोग, हृदयस्पर्शी सम्प्रेषण, कल्पना, कलात्मक विचार, बौद्धिक भाव, प्रेम जस्ता विविधप्रभृति विषयलाई आत्मसात् गरिएको पाइन्छ।

“कविता भावनाको बौद्धिक कोमलता हो” भनेर नेपाली कविताको सन्दर्भमा नाटककार बालकृष्ण समले भनेका छन्। समका यस कथनबाट कवितामा भाव. बुद्धि, कोमलता र अभिव्यक्ति तत्त्व हुनुपर्छ भन्ने बुझिन्छ। कवि डा पुडासैनीका कविताहरूमा पनि यी तत्त्वहरू हरेक कवितांशमा प्रयुक्त भएको अनुभूति हुँदछ।

कविले कविता रच्दा अथवा लेख्दा कुनै पनि सिद्धान्त वा वादलाई अघि राखेर लेखिएको हुँदैन। जब कविताहरू पाठकका अघि पुग्छन् तब त्यस पठनबाट सिर्जना हुने लेखनमा भने विविध विषय, सिद्धान्त र वादलाई अघि राखिएको हुन्छ। यस लेखमा पनि यस पाठकले कविका कविताहरूलाई यस्तै विविध दृष्टिकोणबाट चियाएर अध्ययन गर्ने दृष्टता राखिएको छ।

प्रस्तुत कवितासङ्ग्रहका कवितात्मक शीर्षकहरू अहिलेका नवीन साहित्यिक ढाँचामा छन्। आजका साहित्यिक विषयहरूको नाम प्राय: अङ्ग्रेजी शब्दमा राखिने चलन छ जो यस सङ्ग्रहमा पनि देखिन्छ। अर्को कुरा कविले यी कविताहरू अमेरिकामा बसेर लेखिएको हुँदा शीर्षक सँगै कविताका भाषाहरूमा पश्चिमेली भाषाको मिश्रण भरपुर मात्रामा भएको छ। यस अन्तर्गत् उदाहरणीय शीर्षकहरू यसप्रकार छन्- ब्रेकिङ न्यूज, क्लाउड सिडिङ, अमेरिकन ब्लुज, कफी मर्निङ, समर लभ विथ लिटल एल्म, स्टोनब्रुक स्ट्रीट, टर्निङ प्वाइन्ट टेक्सस, वाटर फाउण्टेन आदि।

उनका कविताका विषयहरू अमेरिकी सन्दर्भमा रहेको कुरा कविका आफ्नै यी विचारहरूले पनि स्पष्ट हुँदछ- “जीवनको केही समय अमेरिका बसेर कविता लेखेको हुँ मैले। अमेरिकासँग प्रेम गरेर उसकै काखमा बास बसेको बेला कविताहरू अमेरिकाको अनुहारमा ब्युँझन खोजेका हुन्। अमेरिकी धुरीखाँबोमा घुमिरहेका मान्छेका मुहार र मन नाप्न पनि खोजेका हुन् मेरा कविताहरूले। यी कविताहरू अमेरिका प्रेम हुन्। अमेरिकी माटोमा उभिएर जीवन नियाल्ने प्रयास पनि हुन् यी कविताहरू।” अमेरिकी भावभूमि र त्यहाँको मनोभावनालाई लिएर लेखिएका कविताहरू यसप्रकार छन्- अमेरिकन एक्सप्रेस, ब्रेकिङ न्यूज, मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे, अमेरिकन ब्लुज, नाइट स्ट्रीट ल्याम्प, स्टोनब्रुक स्ट्रीट, अमेरिका! ओ अमेरिका (१), अमेरिका! ओ अमेरिका (२)आदि।

अमेरिकी भावभूमिमा लेखिएका कवितांशका केही उदाहरणहरू-

मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छेसँग
निद्रा हुँदैन, भोक हुँदैन र हुँदैन कुनै नाता सम्बन्ध
उ केवल मेसिन जिन्दगीको राप ताप्छे
र मेसिनभन्दा अलि दह्रो समयसँग कावा खान्छे
(मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे, पृ. १६)

उपर्युक्त कवितांशमा कविले अमेरिकामा बसोबास गरी जीविका आर्जन गर्ने एउटी नारीको गतिशील जीवन यात्रालाई यहाँ चित्रण गरिएको पाइन्छ। अमेरिकेली नारीको अस्तव्यस्त जीवनलाई आख्यानात्मक वर्णनमा प्रस्तुत गरेका छन्। नारीमाथि रहेको दुष्प्रभावलाई यस कविताले छर्लङ्ग देखाएको अनुभूति हुन्छ। त्यहाँ रहने ब्यस्त स्वास्नीमान्छेलाई विम्बको रूपमा उभ्याएका छन्। कविताले कताकता व्यवसायीमा लिप्त अमेरिकेली नारीहरूको यथार्थ चित्रण गरे झैँ लाग्द्छ।

यसै गरी अमेरिकनहरूको अस्तव्यस्त, निरन्तर होडबाजी जीवनलाई चित्रण गर्ने अर्को कवितांश यहाँ राखिन्छ-

घाम उदाओस या अस्ताओस्
साइक्लोन आओस या टोर्नाडो
दाँया, बायाँ, पूर्व पश्चिम कतै हेर्ने फुर्सद छैन
दौड जारी छ निरन्तर
एक्लै संसार बोक्ने धुनमा
दौडिरहेछ एउटा योद्धा
(अमेरिकन एक्सप्रेस, पृ. १)

यसरी नै कविले युद्धपरक कविताहरू धेरै लेखेका छन्। कवितामा अमेरिकी माटोको गन्ध रहेको पाइन्छ। विश्वमा भइरहेको युद्धले जन्माएको त्रास र चिन्तनलाई कविताहरूमा उतारेका छन्। युक्रेन, गाजा जस्ता विदेशी देशमा भएको युद्धलाई कविताको विषय बनाएका छन्। विश्वमा भइरहेको भयानक युद्धहरूले मानवीय जीवनमा ल्याएको त्रास र उथुलपुथुल भावहरूलाई उनका कविताहरू यथार्थ ढङ्गमा चित्रण भएको पाइन्छ। युद्धले जन्माएको कविको समवेदनाले कविताहरू जीवन्त बन्न पुगेका छन्।

केही कवितांशमा उदाहरणीय युद्धको चित्रण-

रसिया र युक्रेनमा
इजराइल र गाजामा
हाइटी र सुडानमा
अचेल बच्चाहरू
स्कूल जान्छन् कि ब्यारेक
फूल रोप्छन् कि एम्बुस
हिजोसम्म चराजस्तै चरापछाडि दगुरिरहने नानीहरू
अहिले बमको धूवाँसँग आकाशमा उडेर
माटोमा लडिरहेको खबर छ माटोकै रूपमा

हरेक क्षण
खबरमा आइरहेछन्
धूवाँको मुस्लो
बेपर्वाह बजिरहेका साइरन
रगतले सिमखेत बनाइरहेका
बस्ती, बाटा र चौरहरू
र हरेक क्षण देखिइरहेछ
जीवन र मृत्युको दोसाँधमा दौडिरहेको घाइते मान्छे!
(ब्रेकिङ न्यूज, पृ. १०-११)

‘क्लाउड सिडिड’ नामक कवितामा पनि गाजा, युक्रेन, रसिया, इराक जस्ता विदेशी देशहरूमा भएको युद्ध र त्यसले जन्माएको विध्वंशमाथि चित्रण पाइन्छ। “कसैले बनाएको र भइरहेको कुरालाई ध्वंश पार्दै हिड्नुमा कुनै बहादुरी हुन्न” भन्ने कविको सुन्दर विचारमा युद्धपरक कविताहरू जन्मिएको अनुभूति हुन्छ।

उत्तरआधुनिक युगमा प्रबल रूपमा देखिएको डायस्पोरिक प्रवृत्ति अथवा शैलीलाई आफ्ना कविताहरूमा प्रयोग गरीकवितात्मक भावलाई जीवन्त बनाउन कवि सफल बनेका छन्। अमेरिकामा बस्ने नेपाली भाषीहरूको डायस्पोरिक भावना, उनीहरूको पीडा आदिलाई कवितामा अमेरिकन विम्ब एवम् प्रतीकका रूपमा चित्रण गरिएको छ। अमेरिका जस्तो समृद्ध देशमा बसेर पनि त्यहाँका बासिन्दाहरूले खप्नुपरेको गहिरो वेदनालाई कवितामा अभिव्यक्ति दिइएको पाइन्छ। कविले आफ्नो जीवनको कर्मथलो नै अमेरिका बनाए तापनि आफ्नो देश नेपाललाई पनि उत्तिकै सम्झेर, माया गरेर भावहरू व्यक्त गरिएको पाइन्छ। त्यहाँको परिवेशले कविको जीवनलाई ताने तापनि आफ्नो देश नेपाल राष्ट्रलाई मुटुमा राखिएको भाव कवितामा पाउँछौँ। आफ्नो देश प्रतिको प्रगाढ प्रेमलाई कविले आत्मसात् गरेका छन्। ल्याटिन अमेरिकन साल्साको धुनमा साँझमा रमाए पनि, ब्याली डान्समा नाँचे पनि बिहान भने आफ्नै नेपाली लोकनृत्य लाखे नाँच नाचिएको चित्रणमा पनि डायस्पोरिक भाव रहेको छ। नेपालबाट गएर अमेरिकामा बस्नेहरूले अनुभूति गर्ने डायस्पोरिक भावको सुन्दर प्रस्तुति पाइन्छ।

डायस्पोरिक भावमा लेखिएको कविताको एउटा अंशलाई यहाँ राखिन्छ-

एउटा देश आँखामा
र एउटा देश मुटुमा छ मेरो
देश देशका धमिला सिमानाहरू
भत्काउनुपर्छ भनिरहेछु

बिहान लाखे नाच्छु
दिउँसो ब्याले नाँच्छु
साँझ साल्सा नाचिरहेछु
मेरो नाँचमा मोहित भएर नै होला
बिस्तारै सबै दर्शकहरू उक्लदैछन्
अग्लो नृत्यशालामा
(अमेरिकन ब्लुज, पृ.१९)

यसरी नै अमेरिकन पर्यावरणलाई लिएर पनि कविताहरू लेखिएको छ। प्राकृतिक सौन्दर्य र संवेदनाका अनुभूति बटुल्दै अमेरिका घुसेपछि त्यहीको आँखाबाट रचिएका हुन् यस सङ्ग्रहका कविताहरू भनेर कविले कृतिमा एक ठाउँ भनेका छन्। यसबाट के थाहा लाग्द्छ भने कविले पृथ्वीको प्राकृतिक सौन्दर्यलाई हृदयमा राखेको र अमेरिका पुगेपछि त्यहाँको वातावरणले पर्यावरणलाई नै प्रदुर्षित बनाइरहेको कुरालाई व्यक्त गर्न खोजिएको पाइन्छ। आज देशभरिको पर्यावरण विनासको कारण अमेरिका जस्ता पुँजीवाद र औद्योगिक राष्ट्रहरू जिम्मेवार रहेको कुरालाई कवितहरूमा व्यक्त गरिएको छ।

पर्यावरणीय चेतनामा लेखिएको कविताको एउटा अंशलाई यहाँ राखिन्छ-

रूखहरू अन्तिम पटक हल्लेका छन्
चराहरू अन्तिमपटक चिरबिराइरहेछन्
अन्तिम पटक फेरिएको छ सास
अन्तिम पटक चम्केको छ जून
अन्तिम पटक हराएको छ समयको राहदानी
(डाइनोसर भ्रम, पृ. ३२)

मानवतावादी स्वर, वर्तमान युगको विकराल रूपप्रति घृणा, अमेरिकाप्रति कविको प्रेम, उत्तरउपनिवेशवासीको सन्दर्भ आदि जस्ता कविका भावानात्मक विचारहरू यस सङ्ग्रहका कविताहरूले बोकेका छन्। कविताको संरचनाको आधारमा हेर्दा कविका कविताहरू सार्विक र स्थानिक यी दुवै घटकमा सबल रूपमा संरचित भएको पाइन्छ। कविताको प्रकारगत् रूपमा हेर्दा कविका कविताहरू विषयवस्तुको विविधता र वर्णनको विस्तारले गर्दा लामो आकारको छ। यसैले कविताहरू आख्यानात्मक संरचनामा लेखिएको छ। कविताहरू कतैकतै नाटकीय र प्रगीतात्मक संरचनामा पनि लेखिएको पाइन्छ।

▪ निष्कर्ष

➢ ‘मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे’ सङ्ग्रहका कविताहरूहरू वर्तमान मानवीय जीवनको यथार्थ परिवेशको दह्रिलो स्वर हो।

➢ कविले आफू बाँचेका समय अनि आफू उभिएको धरातलको वातावरणलाई हुबहु कवितामा चित्रण गरिएको हुँदा कविताहरू जीवन्त छन्। यही जीवन्त भावले गर्दा कविका कविताहरू पढ्दा पाठकलाई कृत्रिम र कठीन लाग्दैन।

➢ अमेरिकन विम्ब र प्रतिकहरूको प्रयोग गरिएको हुनाले कविताहरूमा कविको पर्यटकीय दृष्टिकोण रहेको पाइन्छ। यद्यपि यस सङ्ग्रहलाई पनि यात्रामय कविताहरूको कृति भनेर भन्न सकिन्छ।

➢ कवितामा कविको स्वानुभूतिको अर्थात् आफैले अनुभूति गरेका भाव वा विचारको अभिव्यक्तिको आधिक्य रहेको पाइन्छ।

➢ कविका कविताहरूले अमेरिकालाई विम्ब बनाएर जीवन जगतबारे लेख्न चाहेको छ। यसै गरी अमेरिकाको परिवेशले यो संसार र संसारमा बस्ने मानिसहरूलाई कसरी हिडाएको छ भन्ने कुरालाई कविताहरूले आत्मसात् गरिएको पाइन्छ।

➢ कविका कविताहरू स्तरीय र पठनीय छन्।

➢ समकालीन वा उत्तरआधुनिक युगमा नेपाली कविताले विश्वव्यापि मोड लिइरहेको छ भन्ने कुरामा उक्त कविता कृति उदाहरणीय छ।

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

डा. दामोदर पुडासैनी किशोर डा. सुनिला गुरुङ मेन ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे समालाेचना

यो पनि पढ्नुहोस्...

पुस्तक समीक्षा : “उपद्रष्टा हर्कमान तामाङका पाना पल्टाउँदै जाँदा”

‘घुरको धुवाँ’ कृति : पठनानुभूति – हरिश कल्पित

फिर्दोसको साँचो : नवीन स्वादको पठनीय कथाकृति – सीता अधिकारी थापा

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

‶गरुराहाʺ उपन्यासमा एक दृष्टि – देवेन्द्र मिश्र

पुण्य कार्कीको ‘अरस्तुको अन्धविश्वास’ निबन्धको शल्यक्रिया

raj shrestha book
♈ दैनिक राशिफल ♎

विशेष

कथा : स्वच्छन्द

कथा: निर्मलाहरू

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

कथा: पश्चाताप

भर्खरै

कविता: घृणा

असार १९, २०८२

छोटो कथा: अँध्यारोतर्फको यात्रा

असार १८, २०८२

निबन्ध: ॐ को प्रभावबारे धर्म र विज्ञान के भन्छ?

असार १८, २०८२

कथा: घरको मृत्यु

असार १७, २०८२

पुस्तक समीक्षा : “उपद्रष्टा हर्कमान तामाङका पाना पल्टाउँदै जाँदा”

असार १४, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.