विषय प्रवेश
पुस्तकालय र पुस्तकालयकर्मी भनेपछि मेरो मन त्यसैत्यसै फुरुङ्ग् भइहाल्छ । ग्रामीण प्रविधि केन्द्र, शुभतारा स्कुल र दरबार हाइ स्कुलमा पुस्तकालय प्रमुखको अनुभव भइसकेकी स्रष्टा सत्या अधिकारी निश्चय नै एक अध्ययनशील र सिर्जनशील व्यक्ति हुन् । युवावस्थाको लामो समय मैले पनि सामुदायिक पुस्तकालय स्थापना, पुस्तक सङ्कलन र ग्रामीण भेगमा अध्ययनशील बानीको विकास गर्न खर्च गरेको छु । अहिले पनि पुस्तक प्रेम उत्तिकै छ ।
सामाजिक सञ्जालमा देखिइरहने र लघुकथाहरू निरन्तर प्रकाशन गरिरहने सत्या अधिकारी मेरो लागि नयाँ नाम थिएन । मैले मेरा अनन्य मित्र श्रीराम राईसँग लघुकथा र कथाका त्यस्तै ८० थान जति कृति झोलामा हालेर कमलविनायक निस्केको थिएँ । शुरुमा पालैपालो आवरण र लेखकको नाम हेरेँ । त्यसपछि केही कृतिहरू बोकेर म कार्यक्षेत्र इलामतिर लागेँ ।
समालोचना, समीक्षा र पाठकीय दृष्टिकोणका बारेमा निरन्तर छलफल, बहस भइरहेको छ, हुनुपर्छ । मान्छे असन्तोषी प्राणी हो । सन्तुष्ट भयो भने नवीनता सायद नमरे पनि पक्कै ओइलाउँछ । फेरि, जहिल्यै असन्तुष्टिले मानसिक रूपमा रोगी र विक्षिप्तता पनि निम्त्याउँछ । हृदयबाट गर्न चाह्यो भने मान्छेले यो धरामा गर्न नसक्ने कुरा सीमित छन्, ती सीमित भइसके । अथवा मान्छेले गर्न सक्ने कुरा, काम सीमित छन् । अनि जे जति गरेको छ, त्यसैलाई ठूलो उपलब्धि ठानेर नाक ठाडो पारेर बसेको छ मान्छे । जुन कोणबाट हेर्न पनि सकिन्छ । मैले लेख्ने गरेका पाठकीय दृष्टिकोण कृति समालोचना र समीक्षा नभएर मात्रै पाठकीय दृष्टिकोण हो भनेर स्पष्ट गर्दछु । केही वर्ष पहिलेसम्म म लघुकथाको लघु समीक्षा अर्थात पाठकीय दृष्टिकोण लेखेर लघुकथा कुनो लगायतका समूह, पत्रपत्रिकाहरूमा प्रकाशित गर्दथेँ । मन परेका कृति अध्ययन् गर्दा केही खट्केका पक्ष टिपोट गर्ने बानी मेरो पुरानै हो । यसले कृति दोहऱ्याइ तेहऱ्याइ अध्ययन गर्नुपर्ने झन्झटबाट मुक्ति नै नदिए पनि केही छुटकारा भने अवश्य दिन्छ । शिक्षणको सिलसिलामा घरपरिवारबाट टाढा रहनु परेपछि पुस्तकहरू मेरा असल साथी भएका छन् ।
कृति प्रकाशन भएपछि त्यसको बारेमा चर्चा परिचर्चा हुन्छ; हुनु पनि पर्दछ । म साहित्य र साहित्यिक कृतिप्रति अत्यन्तै सकारात्मक छु । धेरै पुस्तक पढ्नेले एक जूनीमै एक मानिसले धेरै मानिसको जिन्दगी र फरक दृष्टिकोणको रसस्वादन गर्न पाउँछ । मैले जिन्द्गीमा किनेर, मागेर, उपहारस्वरुप प्राप्त गरेर र पुस्तकालयमा राष्ट्रिय, अन्तर्राष्ट्रिय सर्जकका कृतिहरू प्रशस्त अध्ययन गरें । त्यसबाट मैले पाठकको हैसियतले सदैव राम्रा पक्ष ग्रहण गर्ने र खट्केका पक्ष उजागर गर्ने प्रयत्न गरिरहेको हुन्छु । यही मेसोमा लघुकथा सर्जक सत्या अधिकारीका दुईओटा लघुकथा कृति ‘उमङ्ग’ र ‘ऐना’ पढेर पाठकीय संदृष्टी राख्ने जमर्को गरेको छु ।
उमङ्ग;
‘उमङ्ग’ सत्या अधिकारीको पहिलो लघुकथा सङ्ग्रह हो । अक्षरधाम प्रकाशन प्रालिले २०७८ सालमा प्रकाशन गरेको यो कृतिमा पच्पन्न वटा लघुकथा सङ्ग्रहीत छन् । प्रत्येक कथामा विषयवस्तुअनुसारका स्केच राखिएका छन् । मानवीय जीवनका, वरिपरिका, गाउँघर र सहरबजारका विविध विषयमा लघुकथा रचिएका छन् । आफ्नै सन्तानप्रति बाआमाले गर्ने विभेद मानव समाजको कलङ्क हो (विभेद) । मुसाले पुस्तक काटेकोमा सर्जक चिन्तित हुन्छिन् । देशप्रेमको ढोँग रच्नेहरू आफ्नो देशको भाषा संस्कृतिप्रति कति नजरअन्दाज गरिरहेका छन् ! विषय सोचनीय छ । पिछडिएको समाजमा काम गरेर आमाहरूले प्रशंसनीय काम गरेका छन् जो पहिले स्वयं विभेद गर्दथे (बिटुली) । दैनिक जीवनका आवश्यकता सहजै पूरा भएको खुसीयालीमा उमङ्ग छाएको छ उनको जिन्दगीमा (उमङ्ग) ।
सामाजिक जनजीवनमा यत्रतत्र पाइने विषयवस्तुलाई टपक्क टिपेर छरिएका फूललाई माला उनेर सजाए जसरी सत्या अधिकारीले उमङ्गमा प्रस्तुत गरेकी छिन् । ती केही सुकीर्ति र उदाहरणीय कर्मका रूपमा सन्देश लिएर आएका छन् भने अधिकांश विकृति, विसङ्गति र कुरीतिमाथि चोटिलो प्रहार गर्न उद्यत छन् । विषयवस्तु गाउँदेखि सहरसम्म मात्रै सीमित नभएर विदेशसम्म पुगेका छन् भने राजनीतिदेखि सामाजिक, आर्थिक, सांस्कृतिक, लौकिक, पारलौकिक, आस्तिक, नास्तिक, अध्यात्म र भौतिकवादसम्म उनको पहुँच देखिन्छ । लामो समय पुस्तकालयकर्मी भएर पनि हुनसक्छ, उनको जानकारी र ज्ञानको सीमा फराकिलो छ ।
‘जन्मथलो’मा गाउँका दुई घरहरू आपसमा कुरा गर्दै थिए । शहर पसेकाहरूले बिर्सिएका घरहरू नेपथ्यबा आएको आवाजले उनीहरू ध्यान दिएर सुन्छन् । सहरको घर भूकम्पले भत्काएपछि शरण लिन पुर्ख्यौली घर आइपुगेका रहेछन् । यो लघुकथाले जन्मभूमिको प्रेम मात्रै होइन गाह्रोसाह्रो पर्दा नाभी गाडेको ठाउँ नै काम लाग्छ भन्ने स्पष्ट पारेको छ । १२८ पृष्ठको ‘उमङ्ग’ का लघुकथाहरू विषयवस्तु, प्रस्तुति, वर्णनात्मक र संवादात्मक शैलीले कृति पठनीय छ ।
ऐना;
ऐना सत्या अधिकारीको दोस्रो लघुकथासङ्ग्रह हो । हाम्रो लघुकथा केन्द्रले २०८० सालमा प्रकाशन गरेको यो सङ्ग्रहमा ६९ वटा लघुकथाहरू रहेका छन् । मानवेतर पात्रहरूको सशक्त संवादमार्फत देशको कुरुप राजनीति ऐनामा देखाइएको शीर्ष कथा हो ‘ऐना’ । उनका लघुकथामा शैक्षिक सत्र शुरू भएको लामो समयसम्म पाठ्यपुस्तक नपुग्ने ठाँउमा पार्टीका प्रचार सामग्री रातारात पुगेको अवस्थालाई प्रहार गरिएको छ । पठन संस्कृति बढाउने कुरा नारामै सीमित रहेको यथार्थलाई उधारो आश्वासन दिएर उम्किन खोजेका प्रधानाध्यापकको “…………… अर्को वर्ष सोचौंला ।” भन्ने भनाइसँगै कथाको बीट मारिएको छ ।
समसामयिक राजनीतिक विषयमा धेरै लघुकथा समावेश छन् ‘ऐना’ मा । सेवा, चुनावी चाल, बढुवा, दायित्व, सावधान, चुनाव, न्यायमूर्ति, प्रवेश निषेध शीर्षकका लघुकथामा राजनीतिको फोहोरी खेल, अनियमितता, भ्रष्टाचार, विकृति, विसङ्गति आदि देखाउँदै समुन्नत र सभ्य समाज निर्माणका लागि सबै आआफ्नो स्थानबाट जागरुक हुनुपर्ने सुन्दर अभिप्राय राखिएको छ ।
सङ्ग्रहको शीर्ष लघुकथा ‘ऐना’ मा मानवेतर पात्रमार्फत मानवीय आडम्बर, अहङ्कार र मपाइत्वलाई सशक्त ढङ्गले उजागर गरिएको छ । जङ्गलमा एउटा ब्वाँसो अरू प्राणीलाई दु:ख दिँदै रमाएर शानले बसेको छ । ऊ कहिले स्याललाई थर्काउँछ त कहिले मृगलाई धम्की दिन्छ । सुरूमा निमुखा प्राणी मौन रहे पनि उनीहरूको धिरता टुटेपछि एकजुट भएर सामूहिक स्वरमा, “ए ब्वाँसा, पहिला आफ्नो छवि त एकपटक ऐनामा त हेर् ।” भन्छन् । कथा यत्तिमा टुङ्गिन्छ तर यसले दिने सन्देश बेजोड छ । समाजमा मै हुँ भन्ने मनुवाहरूले कुकर्मले हिलो पोतिएको अनुहार ऐनामा हेर्ने हो भने आफैं तर्सिन्छन् होला !
त्यस्तै अर्को लघुकथा ‘चित्कार’ वीरगति प्राप्त गरेको काखे छोरा र जीवनसङ्गिनीको कारूणिक कथा हो । वृद्धाश्रम पुगेर अनाथ बालबालिकालाई सहयोग गरेर फर्किंदा छोराले ‘बा बा’ भन्दै बोलाइरहेको मार्मिक दृश्य मानसपटलमा आउँछ । कथामा दृश्य निर्माणमा गर्ने खुबीले मलाई साँच्चिकै आकर्षित गर्छ । अन्त्यमा सालिकमा टाँसिएर आँसु झार्दै “यी हेर त, तिम्रो निसानी यत्रो भयो ।” भन्दा हृदय भक्कानिन्छ ।
एक सय चार पृष्ठको ‘ऐना’ मा सत्या अधिकारीको विषयवस्तुप्रतिको गहनता, त्यसलाई पस्कने शैली र पुस्तकप्रेम स्पष्ट देखिन्छ ।
अन्त्यमा;
साहित्यिक कृतिमा भूमिका र शुभकामना लेख्ने, लेखाउने चलन पुरानै होला ! यसले नवसर्जकहरूलाई अवश्य प्रेरणा पनि दिने गर्दछ । नलेखी नहुने, नलेख्दा अन्याय नै हुने बाहेक अनावश्यक भूमिका र शुभकामना राखेको मलाई चाहिँ मन पर्दैन । यसले पाठकको ध्यान मोडिदिन सक्छ । एउटा बनिबनाउ धारणा पाठकमा पहिले नै बनेपछि स्वपठनको आनन्द उठाउन सक्दैन । नपढ्दा भयो त ! भन्ने भनाइ यहाँ हाजिर हुनसक्छ । कृतिको सुरुमै महत्वपूर्ण ठाउँमा सजिएपछि नहेरूँ भन्दा नि नजर त पुगिहाल्छ । नपढ्ने भए किन राखेको त ? यो प्रश्न पनि जायज नै होला !
सत्या अधकारीका दुवै लघुकथासङ्ग्रहमा भूमिका र शुभकामनाले धेरै पृष्ठ खाइदिएका छन् । उमङ्गमा पाँच जनाले (१३ पृष्ठ) र ऐनामा सात जनाले (२४ पृष्ठ) शुभकामना सन्देश दिएका छन् ।
उमङ्ग र ऐना नेपाली लघुकथा भण्डार समृद्ध बनाउँदै सजिएका छन् । पात्र, परिवेश, व्यङ्ग्य र प्रतीकको सुन्दर संयोजननले दुवै कृति पठनीय छन् । लघुकथाको सिद्धान्त, त्यसका तत्त्व र आयाम, केके जाती झट्का आदिको वास्ता नगरी मैले दुवै कृति पठनको आनन्दमा डुबेर पढें । भवतु सब्ब मंगलम् ।
– कुमार काफ्ले
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।