विषय प्रवेश
पुस्तकालय र पुस्तकालयकर्मी भनेपछि मेरो मन त्यसैत्यसै फुरुङ्ग् भइहाल्छ । ग्रामीण प्रविधि केन्द्र, शुभतारा स्कुल र दरबार हाइ स्कुलमा पुस्तकालय प्रमुखको अनुभव भइसकेकी स्रष्टा सत्या अधिकारी निश्चय नै एक अध्ययनशील र सिर्जनशील व्यक्ति हुन् । युवावस्थाको लामो समय मैले पनि सामुदायिक पुस्तकालय स्थापना, पुस्तक सङ्कलन र ग्रामीण भेगमा अध्ययनशील बानीको विकास गर्न खर्च गरेको छु । अहिले पनि पुस्तक प्रेम उत्तिकै छ ।
सामाजिक सञ्जालमा देखिइरहने र लघुकथाहरू निरन्तर प्रकाशन गरिरहने सत्या अधिकारी मेरो लागि नयाँ नाम थिएन । मैले मेरा अनन्य मित्र श्रीराम राईसँग लघुकथा र कथाका त्यस्तै ८० थान जति कृति झोलामा हालेर कमलविनायक निस्केको थिएँ । शुरुमा पालैपालो आवरण र लेखकको नाम हेरेँ । त्यसपछि केही कृतिहरू बोकेर म कार्यक्षेत्र इलामतिर लागेँ ।
समालोचना, समीक्षा र पाठकीय दृष्टिकोणका बारेमा निरन्तर छलफल, बहस भइरहेको छ, हुनुपर्छ । मान्छे असन्तोषी प्राणी हो । सन्तुष्ट भयो भने नवीनता सायद नमरे पनि पक्कै ओइलाउँछ । फेरि, जहिल्यै असन्तुष्टिले मानसिक रूपमा रोगी र विक्षिप्तता पनि निम्त्याउँछ । हृदयबाट गर्न चाह्यो भने मान्छेले यो धरामा गर्न नसक्ने कुरा सीमित छन्, ती सीमित भइसके । अथवा मान्छेले गर्न सक्ने कुरा, काम सीमित छन् । अनि जे जति गरेको छ, त्यसैलाई ठूलो उपलब्धि ठानेर नाक ठाडो पारेर बसेको छ मान्छे । जुन कोणबाट हेर्न पनि सकिन्छ । मैले लेख्ने गरेका पाठकीय दृष्टिकोण कृति समालोचना र समीक्षा नभएर मात्रै पाठकीय दृष्टिकोण हो भनेर स्पष्ट गर्दछु । केही वर्ष पहिलेसम्म म लघुकथाको लघु समीक्षा अर्थात पाठकीय दृष्टिकोण लेखेर लघुकथा कुनो लगायतका समूह, पत्रपत्रिकाहरूमा प्रकाशित गर्दथेँ । मन परेका कृति अध्ययन् गर्दा केही खट्केका पक्ष टिपोट गर्ने बानी मेरो पुरानै हो । यसले कृति दोहऱ्याइ तेहऱ्याइ अध्ययन गर्नुपर्ने झन्झटबाट मुक्ति नै नदिए पनि केही छुटकारा भने अवश्य दिन्छ । शिक्षणको सिलसिलामा घरपरिवारबाट टाढा रहनु परेपछि पुस्तकहरू मेरा असल साथी भएका छन् ।
कृति प्रकाशन भएपछि त्यसको बारेमा चर्चा परिचर्चा हुन्छ; हुनु पनि पर्दछ । म साहित्य र साहित्यिक कृतिप्रति अत्यन्तै सकारात्मक छु । धेरै पुस्तक पढ्नेले एक जूनीमै एक मानिसले धेरै मानिसको जिन्दगी र फरक दृष्टिकोणको रसस्वादन गर्न पाउँछ । मैले जिन्द्गीमा किनेर, मागेर, उपहारस्वरुप प्राप्त गरेर र पुस्तकालयमा राष्ट्रिय, अन्तर्राष्ट्रिय सर्जकका कृतिहरू प्रशस्त अध्ययन गरें । त्यसबाट मैले पाठकको हैसियतले सदैव राम्रा पक्ष ग्रहण गर्ने र खट्केका पक्ष उजागर गर्ने प्रयत्न गरिरहेको हुन्छु । यही मेसोमा लघुकथा सर्जक सत्या अधिकारीका दुईओटा लघुकथा कृति ‘उमङ्ग’ र ‘ऐना’ पढेर पाठकीय संदृष्टी राख्ने जमर्को गरेको छु ।
उमङ्ग;
‘उमङ्ग’ सत्या अधिकारीको पहिलो लघुकथा सङ्ग्रह हो । अक्षरधाम प्रकाशन प्रालिले २०७८ सालमा प्रकाशन गरेको यो कृतिमा पच्पन्न वटा लघुकथा सङ्ग्रहीत छन् । प्रत्येक कथामा विषयवस्तुअनुसारका स्केच राखिएका छन् । मानवीय जीवनका, वरिपरिका, गाउँघर र सहरबजारका विविध विषयमा लघुकथा रचिएका छन् । आफ्नै सन्तानप्रति बाआमाले गर्ने विभेद मानव समाजको कलङ्क हो (विभेद) । मुसाले पुस्तक काटेकोमा सर्जक चिन्तित हुन्छिन् । देशप्रेमको ढोँग रच्नेहरू आफ्नो देशको भाषा संस्कृतिप्रति कति नजरअन्दाज गरिरहेका छन् ! विषय सोचनीय छ । पिछडिएको समाजमा काम गरेर आमाहरूले प्रशंसनीय काम गरेका छन् जो पहिले स्वयं विभेद गर्दथे (बिटुली) । दैनिक जीवनका आवश्यकता सहजै पूरा भएको खुसीयालीमा उमङ्ग छाएको छ उनको जिन्दगीमा (उमङ्ग) ।
सामाजिक जनजीवनमा यत्रतत्र पाइने विषयवस्तुलाई टपक्क टिपेर छरिएका फूललाई माला उनेर सजाए जसरी सत्या अधिकारीले उमङ्गमा प्रस्तुत गरेकी छिन् । ती केही सुकीर्ति र उदाहरणीय कर्मका रूपमा सन्देश लिएर आएका छन् भने अधिकांश विकृति, विसङ्गति र कुरीतिमाथि चोटिलो प्रहार गर्न उद्यत छन् । विषयवस्तु गाउँदेखि सहरसम्म मात्रै सीमित नभएर विदेशसम्म पुगेका छन् भने राजनीतिदेखि सामाजिक, आर्थिक, सांस्कृतिक, लौकिक, पारलौकिक, आस्तिक, नास्तिक, अध्यात्म र भौतिकवादसम्म उनको पहुँच देखिन्छ । लामो समय पुस्तकालयकर्मी भएर पनि हुनसक्छ, उनको जानकारी र ज्ञानको सीमा फराकिलो छ ।
‘जन्मथलो’मा गाउँका दुई घरहरू आपसमा कुरा गर्दै थिए । शहर पसेकाहरूले बिर्सिएका घरहरू नेपथ्यबा आएको आवाजले उनीहरू ध्यान दिएर सुन्छन् । सहरको घर भूकम्पले भत्काएपछि शरण लिन पुर्ख्यौली घर आइपुगेका रहेछन् । यो लघुकथाले जन्मभूमिको प्रेम मात्रै होइन गाह्रोसाह्रो पर्दा नाभी गाडेको ठाउँ नै काम लाग्छ भन्ने स्पष्ट पारेको छ । १२८ पृष्ठको ‘उमङ्ग’ का लघुकथाहरू विषयवस्तु, प्रस्तुति, वर्णनात्मक र संवादात्मक शैलीले कृति पठनीय छ ।
ऐना;
ऐना सत्या अधिकारीको दोस्रो लघुकथासङ्ग्रह हो । हाम्रो लघुकथा केन्द्रले २०८० सालमा प्रकाशन गरेको यो सङ्ग्रहमा ६९ वटा लघुकथाहरू रहेका छन् । मानवेतर पात्रहरूको सशक्त संवादमार्फत देशको कुरुप राजनीति ऐनामा देखाइएको शीर्ष कथा हो ‘ऐना’ । उनका लघुकथामा शैक्षिक सत्र शुरू भएको लामो समयसम्म पाठ्यपुस्तक नपुग्ने ठाँउमा पार्टीका प्रचार सामग्री रातारात पुगेको अवस्थालाई प्रहार गरिएको छ । पठन संस्कृति बढाउने कुरा नारामै सीमित रहेको यथार्थलाई उधारो आश्वासन दिएर उम्किन खोजेका प्रधानाध्यापकको “…………… अर्को वर्ष सोचौंला ।” भन्ने भनाइसँगै कथाको बीट मारिएको छ ।
समसामयिक राजनीतिक विषयमा धेरै लघुकथा समावेश छन् ‘ऐना’ मा । सेवा, चुनावी चाल, बढुवा, दायित्व, सावधान, चुनाव, न्यायमूर्ति, प्रवेश निषेध शीर्षकका लघुकथामा राजनीतिको फोहोरी खेल, अनियमितता, भ्रष्टाचार, विकृति, विसङ्गति आदि देखाउँदै समुन्नत र सभ्य समाज निर्माणका लागि सबै आआफ्नो स्थानबाट जागरुक हुनुपर्ने सुन्दर अभिप्राय राखिएको छ ।
सङ्ग्रहको शीर्ष लघुकथा ‘ऐना’ मा मानवेतर पात्रमार्फत मानवीय आडम्बर, अहङ्कार र मपाइत्वलाई सशक्त ढङ्गले उजागर गरिएको छ । जङ्गलमा एउटा ब्वाँसो अरू प्राणीलाई दु:ख दिँदै रमाएर शानले बसेको छ । ऊ कहिले स्याललाई थर्काउँछ त कहिले मृगलाई धम्की दिन्छ । सुरूमा निमुखा प्राणी मौन रहे पनि उनीहरूको धिरता टुटेपछि एकजुट भएर सामूहिक स्वरमा, “ए ब्वाँसा, पहिला आफ्नो छवि त एकपटक ऐनामा त हेर् ।” भन्छन् । कथा यत्तिमा टुङ्गिन्छ तर यसले दिने सन्देश बेजोड छ । समाजमा मै हुँ भन्ने मनुवाहरूले कुकर्मले हिलो पोतिएको अनुहार ऐनामा हेर्ने हो भने आफैं तर्सिन्छन् होला !
त्यस्तै अर्को लघुकथा ‘चित्कार’ वीरगति प्राप्त गरेको काखे छोरा र जीवनसङ्गिनीको कारूणिक कथा हो । वृद्धाश्रम पुगेर अनाथ बालबालिकालाई सहयोग गरेर फर्किंदा छोराले ‘बा बा’ भन्दै बोलाइरहेको मार्मिक दृश्य मानसपटलमा आउँछ । कथामा दृश्य निर्माणमा गर्ने खुबीले मलाई साँच्चिकै आकर्षित गर्छ । अन्त्यमा सालिकमा टाँसिएर आँसु झार्दै “यी हेर त, तिम्रो निसानी यत्रो भयो ।” भन्दा हृदय भक्कानिन्छ ।
एक सय चार पृष्ठको ‘ऐना’ मा सत्या अधिकारीको विषयवस्तुप्रतिको गहनता, त्यसलाई पस्कने शैली र पुस्तकप्रेम स्पष्ट देखिन्छ ।
अन्त्यमा;
साहित्यिक कृतिमा भूमिका र शुभकामना लेख्ने, लेखाउने चलन पुरानै होला ! यसले नवसर्जकहरूलाई अवश्य प्रेरणा पनि दिने गर्दछ । नलेखी नहुने, नलेख्दा अन्याय नै हुने बाहेक अनावश्यक भूमिका र शुभकामना राखेको मलाई चाहिँ मन पर्दैन । यसले पाठकको ध्यान मोडिदिन सक्छ । एउटा बनिबनाउ धारणा पाठकमा पहिले नै बनेपछि स्वपठनको आनन्द उठाउन सक्दैन । नपढ्दा भयो त ! भन्ने भनाइ यहाँ हाजिर हुनसक्छ । कृतिको सुरुमै महत्वपूर्ण ठाउँमा सजिएपछि नहेरूँ भन्दा नि नजर त पुगिहाल्छ । नपढ्ने भए किन राखेको त ? यो प्रश्न पनि जायज नै होला !
सत्या अधकारीका दुवै लघुकथासङ्ग्रहमा भूमिका र शुभकामनाले धेरै पृष्ठ खाइदिएका छन् । उमङ्गमा पाँच जनाले (१३ पृष्ठ) र ऐनामा सात जनाले (२४ पृष्ठ) शुभकामना सन्देश दिएका छन् ।
उमङ्ग र ऐना नेपाली लघुकथा भण्डार समृद्ध बनाउँदै सजिएका छन् । पात्र, परिवेश, व्यङ्ग्य र प्रतीकको सुन्दर संयोजननले दुवै कृति पठनीय छन् । लघुकथाको सिद्धान्त, त्यसका तत्त्व र आयाम, केके जाती झट्का आदिको वास्ता नगरी मैले दुवै कृति पठनको आनन्दमा डुबेर पढें । भवतु सब्ब मंगलम् ।
– कुमार काफ्ले



