सिर्जनाको ब्रह्माण्ड यौटा अनुभूति र अभिव्यक्ति मात्र होइन। यो जीवनको स्पन्दन हो। मन र मुटुबाट प्रस्फुटित कोमल काया–कलेवरको अमूल्य रचना हो। हामी यिनमा समय, समाज, जीवन र प्रकृति भेट्छौं। जीवन रमाउने परिवेश पाउँछौं। भावना खेलाउने ठाउँ देख्छौं। यौटा पृथक समय-चिन्तनको माधुर्य रङ-कोलाजमा अभिव्यक्त सुखी समयको सुन्दर संसारमा प्रवेश गछौं।
सृष्टिले जति सुन्दर ब्रह्माण्ड रचना गरेको छ, सिर्जनाले त्यत्तिकै गहिरो आत्मा निर्माण गरेको छ। हरेक सिर्जना, चाहे त्यो चित्र होस्, मूर्ति होस्, कविता होस्, संगीत होस्, नृत्य–मञ्चन होस् वा प्रेमको अभिव्यक्ति। सिर्जनाको ब्रह्माण्ड यही हो।
यी सबै एक पृथक संसारको सिर्जना हो। कोमल मनको सुन्दर सिर्जना हो। जब कलाकारको कूची क्यानभासमा दौडिन्छ। जब शिल्पीका औंलाहरू घन र छिनोबाट ढुंगामा स्पर्श गर्छन्। जब कविको शब्दले हृदयको दैलो खोल्छ। त्यतिबेला एउटा नयाँ ब्रह्माण्ड जन्मन्छ।
सिर्जनामा सृष्टिको सुगन्ध मिसिएको हुन्छ। किनभने सिर्जना आफैंमा समयको एउटा जीवित रूप हो। कुनै लोकगायकले गाउँने लोकदोहोरी सृष्टिको उस्तै चित्रण हो। जसरी नदीले शिला कटान गरेर नयाँ मार्ग खोज्छ। लोकसंस्कृतिमा जरा गाडेर बसेका मारुनी, सोरठी, झ्याउरे, देउडा, ठप्पा यी सबै गीतहरू मात्र होइनन्। हाम्रा पुर्खाका अनुभूतिहरूको लोकजीवनका जीवन्त मूर्तिहरू हुन्। सिर्जनाले इतिहासलाई जोगाउँछ, वर्तमानलाई गहिरो अर्थ दिन्छ र भविष्यलाई परिभाषित गर्छ।
चित्रकारले क्यानभासमा रङ भर्दा त्यहाँ जीवनको संवेदना पोखिन्छ। एक मूर्तिकारको हातमा ढुंगा केवल निर्जीव पदार्थ होइन, त्यो स्पर्शमै चेतनशील हुन्छ। कुनै कविले शब्द बुनेर कविता जन्माउँदा त्यो अक्षरहरूको संयोजन मात्र हुँदैन। अन्ततः त्यो एउटा जीवित आत्माको अभिव्यक्ति हुन्छ।
कुनै बाद्ययन्त्रको तारमा कुनै कुशल साधकका औंलाहरूले एकपटक छोइदिँदा सांगीतिक मिठासको आह्लादित कम्पन पैदा हुन्छ। त्यस कम्पनले हजारौं हृदयमा लयको आन्दोलन ल्याइदिन्छ। यही आन्दोलनले प्रेम जन्माउँछ। आत्मीयता फैलाउँछ। क्रान्तिको बीउ रोपिदिन्छ। र, शान्त, शीतल, सुखी संसारको धरातलमा हामीलाई सकुशल अवतरण गराइदिन्छ।
सिर्जनामा समयको कुनै सीमा हुँदैन। एउटा कविता सय वर्षपछि पनि ताजा लाग्न सक्छ। एउटा गीत युगौंसम्म प्रिय बन्न सक्छ। एउटा चित्र हजारौं वर्षपछिको पुस्तालाई नयाँ र नौलो नै लागिरहन सक्छ। किनभने यी सबै सिर्जना मानवको कर्म होइन, यो आत्माको स्पन्दन हो।
बाँसुरीको धुन सुन्दा मन किन शान्त हुन्छ? कुनै कविताका हरफ किन गहिराइसम्म पुग्छन्? किन कुनै मूर्तिले हृदयलाई स्पर्श गर्छ? किन संगीतले हामीलाई बेग्लै दुनियाँमा लैजान्छ? कुनै कथा, उपन्यास पढ्दा हामी त्यसैमा आँसु खसाउँछौं र भावुक बन्छौं। तिनको अध्ययनले हामीभित्रको संवेदना जागृत हुन्छ। किनभने सिर्जना आफैंमा चेतनशील छ। जसरी ब्रह्माण्ड आफैंमा रहस्यमयी छ। त्यस्तै हरेक सिर्जना एक अद्भुत ब्रह्माण्ड हो।
सिर्जनाको चेतना भन्नु सत्यम्, शिवम्, सुन्दरमको शाश्वत अभिलेखन हो। यसमा सिर्जनशील इमानदारिताका आवाजहरू विभिन्न माध्यमबाट प्रकट भएका हुन्छन्। तिनले पाठकीय मनहरूलाई छुन सक्नु, प्रभावित पार्नु र प्रेरित गर्नु भनेको त्यो सिर्जनाको सफलता हो। लेखकीय सफलताले त्यसमा मौलिक पक्षको प्रवल अनुभूति रहेछ भन्ने कुराको बोध हुन्छ।
बाँसुरीको धुन शून्यताभित्र बग्छ। त्यो केवल हावासँगै प्रवाहित हुने हुँदैन, होइन। त्यो विशुद्ध आत्माको संगीत हो। प्रत्येक साङ्गीतिक आरोह-अवरोहमा अनुभूतिको तरङ्ग पैदा हुन्छ। त्यसले हृदयलाई कुनै नदेखिने प्रकाशको उज्यालोले भित्रभित्रै ज्योतिर्मय पार्छ। किनकि बाँसुरी आफैंमा शून्यताको झङ्कार हो, जसरी आकाश रङ्गहीन भएर पनि अनन्त सम्भावनाको क्यानभास हो।
कविताका हरफ शब्दहरू मात्र होइनन्, ती समयको सतहमा बग्ने जीवनका तरल अनुभूतिहरू हुन्। कुनै कविताले किन मनको कुनै गहिराइमा पुगी स्पर्श गर्छ? किनभने कविता पढ्ने वस्तु मात्र होइन, महसुस गर्ने संसार हो। शब्दहरू भावनाका कणहरूमा बग्दा तिनले आत्मालाई ब्युउँझाउँछन्, जसरी पहिलो प्रकाशको स्पर्शले भुइँमा मरणासन्न ओसिला पातहरूलाई नयाँ जीवन दिन्छ।
सत्य यही हो, सिर्जना आफैंमा चेतनशील छ। एउटा मूर्ति केवल ढुङ्गाको टुक्रा हुँदैन। त्यो भावनाको आकार हो। समयको मौन अभिव्यक्ति हो। जब कुनै मूर्तिले हृदयलाई छुन सक्छ। त्यो कलाकारको कौशल मात्र होइन। त्यो त ढुंगाभित्रको चेतनाको जागरण पनि हो। कला तब मात्र जीवित हुन्छ, जब त्यसमा अनुभूतिका स्पन्दनहरू भरिन्छन्। तिनले हेर्ने आँखाहरूमा केही नयाँपनको आभास गराउन सक्छन्। तिनले व्यथित मनहरूलाई उल्लासको उत्सवमा सामेल गराउन सक्छन्।
सङ्गीतले किन हामीलाई अर्को संसारमा पुऱ्याउँछ? किनभने त्यो आवाजको लहर मात्र होइन। त्यो आत्माको गति पनि हो। संगीतमा प्रेम, पीडा र हर्ष, विष्मातका धड्कन लुकेको हुन्छ। यसले मुटुको तालसँग मिलेर नाच्छ। कुनै पुरानो धुन सुन्दा किन भुलिएको कुनै क्षण झल्झली आउँछ? किनभने संगीत समयको बाँकी प्रतिध्वनि हो। यो स्मृतिको गल्छीमा बगिरहन्छ। भीडभन्दा धेरै टाढाको सुनसान देउराली र भञ्ज्याङहरूमा सुसेलिरहन्छ।
अतः सिर्जना कुनै निर्जीव वस्तु होइन। सिर्जना आफैंमा एक ब्रह्माण्ड हो रहस्यमय, अनन्त र चेतनशील। जसरी ब्रह्माण्ड आफैंमा अज्ञेय छ। तर अनुभूत गर्न सकिन्छ। त्यसरी नै सिर्जना पनि अनुभूत गर्ने तत्व हो। जब एउटा कविता आत्माभित्रबाट ओर्लिन्छ। जब कुनै सङगीत हृदयको लयसँग मिलेर धड्किन्छ। जब कुनै चित्र आत्माको ऐनामा प्रतिविम्बित हुन्छ। ती सबै क्षणहरूमा सिर्जनात्मक कर्म आफैंमा जीवित भइदिन्छ। सिर्जनाको ब्रह्माण्ड त्यहाँ प्रस्फुटित हुन्छ।
वास्तवमा सिर्जना चेतनशील छ। किनभने हामी चेतनशील छौं। चेतनशीलता स्वयं सिर्जना हो। सिर्जनाको ब्रह्माण्ड हो।
सिर्जना समयको प्रवाहमा एक अमिट चिह्न हो। एक कलाकारको प्रवीण कूची र घन, एक कविको अमर शब्द सामर्थ्य, एक संगीतकारको गहिरो सुर। कुनै परम्परागत शिल्पीले बनाएका र बुनेका शिल्पकर्महरू। यी सबैले समयलाई बाँच्न सिकाउँछन्। जीवनलाई हाँस्न प्रेरित गरिरहन्छन्। संसारको मूल तत्व सृष्टि हो। त्यसको आत्मा सिर्जना हो। यही आत्माले हामीलाई मानव बनाउँछ। संवेदनशील बनाउँछ। जीवनलाई सुन्दर बनाउँछ। यही सौन्दर्यमय आभामा अभिव्यञ्जित अनुभूतिका तरङ्गहरू सिर्जनाका ब्रह्माण्ड हुन्।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।