प्रेम जीवनको आधारभूत तत्त्व हो, जसले मानिसलाई मानवता, त्याग र आत्मिक सन्तोषको बाटोमा अघि बढ्न प्रेरित गर्दछ। याे निःस्वार्थता, त्याग र सच्चाइलाई अङ्गाल्दै शारीरिक आकर्षण वा भौतिक चाहनाभन्दा आत्मिक सम्बन्ध र गहिरो समझदारीमा केन्द्रित हुन्छ। प्रेममा विश्वास, सम्मान र समर्थनको मुख्य भूमिका हुन्छ। यसले एकअर्काको कमजोरीलाई स्वीकार्ने र आवश्यकता पर्दा साथ दिने आत्मीय सम्बन्धलाई प्रोत्साहन गर्दै व्यक्ति, परिवार र समाजमा सकारात्मक ऊर्जा फैलाउँछ। प्रेमले मानिसलाई दयालु, सहनशील र जिम्मेवार बनाउँदै जीवनलाई अर्थपूर्ण र पूर्ण बनाउँछ। आस्था विश्वासको शक्ति हो, जसले मानिसलाई कठिन परिस्थितिमा पनि सकारात्मक ऊर्जा र प्रेरणा प्रदान गर्छ। धर्म, सम्बन्ध वा विचारमा मात्र नभएर आस्थाले मानिसको आत्मा र मनमा समेत स्थिरता प्रदान गर्दै विश्वास र समर्पणका माध्यमद्वारा मानिसलाई सन्तुलित र बलियो बनाउँछ। आदर्श उच्च मूल्य र सिद्धान्त हाे जसले जीवनलाई सही दिशा दिन्छ। आदर्शले व्यक्तिलाई नैतिक, जिम्मेवार र उद्देश्यपूर्ण बनाउन सहयोग गर्छ। यो केवल व्यक्तिको व्यक्तिगत जीवनका लागि मात्र नभई समाजका लागि समेत मार्गदर्शक शक्ति बनेर उभिन्छ। यी तीनवटै पक्ष मानवजीवनका अपरिहार्य अङ्ग भएकाले एक-अर्काबाट पृथक् हुन सक्दैनन् भन्ने तथ्यलाई हरिश कल्पितको “ग्याब्रियले” कथासङ्ग्रह (२०७७) ले उजागर गरेकाे छ। आख्यानका क्षेत्रमा कलम चलाउँदै आएका कल्पितका “ग्याब्रियले” भित्रका कथाहरूले प्रेम, आस्था र आदर्शलाई मूलमन्त्र बनाएका छन्।
कल्पितका कथाहरू समाजकै यथार्थ घटनाहरूलाई टिपेर बुनिएका छन्। विशेषगरी प्रेम विषयलाई प्राथमिकताका साथ प्रस्तुत गरिएका उनका कथामा नेपाली, अमेरिकी र जापानी परिवेश भेटिन्छ। उनका धेरैजसो कथाहरू नेपाली परिवेशमै रचिएका छन् भने केही कथाहरू जापानी र अमेरिकी परिवेशमा रचना गरिएका छन्। तर विदेशी परिवेशका कथाभित्र नेपाली सन्दर्भ जाेडिएकै छन्। कल्पितका कथाहरू प्रेम विषयमा केन्द्रित देखिन्छन्। उनको “ग्याब्रियले” भित्रका १३ वटा कथाहरूमा ‘मोहभङ्ग’, ‘बिहे’, ‘पुष्पलता’, ‘मोहजाल’, ‘उहाँहरू आउनुभो मम्मी?’, ‘ग्याब्रियले’ ‘मेरी प्यारी छोरी’, ‘बधाई छ देवयानी’, ‘कृष्ण सर’, ‘अनिमा’, ‘केईकाे सेनसेई’, ‘भ्रमजाल’ र ‘एडमको प्रेम’ रहेका छन्। यिनीहरूमध्ये धेरैमा प्रेमलाई मूल विषय बनाइएकाे छ।
उनको यस सङ्ग्रहभित्रकाे पहिलो कथा ‘मोहभङ्ग’ बालविवाहकाे असर, बाँझाेपन, पारिवारिक समस्या तथा नारीसंवेदनालाई प्रस्तुत गरिएको कथा हो। सुविदार्नी र लक्ष्मीको वार्तालापबाट सुरु भएको यस कथामा लक्ष्मीको उदासीपनका कारणबारे कौतुहलता सिर्जना गर्दै कलात्मक रूपमा नेपाली समाजकाे यथार्थताकाे चित्रण गरिएकाे छ।
रुद्रराज पाण्डेको “रूपमती” उपन्यासका नारी पात्रको झलक दिने र आदर्शको पाठ सिकाइने प्रवृत्तिको कथाका रूपमा मोहभङ्ग देखा परेको छ। यसमा आएकी लक्ष्मी रूपमतीकी स्वभाव बोकेकी पात्र हुन् भने उनकी देउरानी अर्थात् गोविन्दकी श्रीमती सुभद्रा बरालपुत्री स्वभावकी पात्र हुन्। यी दुईमध्ये लक्ष्मी जस्तै असल बुहारी, श्रीमती, आमा, भाउजू, दिदी वा जेठानीकाे आदर्श भूमिका लेखकीय पक्षधरता बनेकाे छ। परिवार बनाउने र भत्काउने जिम्मा नारीकै हातमा हुन्छ भन्ने सन्देश यस कथाले दिएको छ। सम्पत्तिको लोभमा अनेक बहाना र आरोपहरू लगाउँदै श्रीमानलाई एकलौटी बनाउन खोज्ने नारीको चरित्रमाथि औँला उठाइएको याे कथा आदर्शाेन्मुख यथार्थवादी प्रवृत्तिको बन्न पुगेको छ।
‘बिहे’ शीर्षकको कथाले असिमा र अमिनाको भगिनी सम्बन्ध, अमिनाको धनाड्य परिवारसँगको वैवाहिक सम्बन्ध, विकसित राष्ट्रहरूमा पुगेका युवाहरूप्रतिको नेपालीहरूको आकर्षण, भौतिकताप्रतिको मोह, त्यसले परिवारमा निम्त्याएको दुर्घटनालाई विषय बनाइएको छ। यसमा श्रीमान्लाई एड्स भएको थाहा भएपछि अमिनाका खुसीहरू लुटिएको र बिरामी परेको अवस्थालाई पनि देखाइएको छ। भौतिक सुखसुविधा भन्दा विश्वास र आत्मिक सुख नै ठुलो हो भन्ने निष्कर्ष दिइएको यस कथामा आफूले सधैँ चाह राखेकाे सन्तान प्राप्ति तथा टिभीको आगमन सँगै हुँदा पनि बहिनीको चिन्ताले भावुक बनेकी दिदी असिमाको स्थितिलाई देखाउँदै दिदीबहिनी बीचमा भएको निस्वार्थ प्रेमलाई समेत देखाइएको छ। क्षणिक सुखका लागि जस्तोसुकै कदम नउठाउन र लाेभ, माेहका आधारमा गरिने हतारकाे निर्णयप्रति सजगता अपनाउन यस कथाले आग्रह गरेको छ।
नेपाली समाजमा नारीलाई भौतिक वस्तु वा उपभाेग्य वस्तु र साैन्दर्य साधनका रूपमा हेरिने प्रवृत्ति प्रति व्यङ्ग्य गर्दै लेखिएको कथा हो कल्पितको ‘पुष्पलता’। “स्वास्नीलाई के भयो कसो भयो? बुझ्नु छैन। स्वास्नीको भावनाको ख्याल छैन। खाली स्वास्नीलाई पुतली झैँ सिँगार्यो, पार्टीमा साथीभाइलाई प्रदर्शन गर्यो। मेरी श्रीमती भन्दै चिनायो, घमण्डले गम्कियो। हैन कस्तो निरस लोग्ने मान्छे?… कहिले प्रेमको दुई शब्द बोल्न जान्या छैन” (पृ.३७) भन्ने कथाको सन्दर्भले सोही कुरालाई पुष्टि गरेको छ। अनुरागलाई प्रेम गर्ने पुष्पलताको विगतको स्मरण गरिएको यस कथामा प्रेममा त्याग नै ठुलो कुरा हो भन्ने तथ्यलाई प्रस्तुत गरिएको छ। अनुराग ब्लड क्यान्सरका कारण आफ्नी प्रेमिकालाई ढाँट्न विवश भएको अवस्था पनि प्रेमकै आदर्श रूप हो। अविवाहित भएर पनि विवाहित भनेर उसले आफ्नी प्रेमिकाबाट टाढिन खोज्नु उसको जीवनको छोटो घडीको बोध हुनु मात्रै नभएर प्रेमिकाकाे भविष्यप्रतिकाे चिन्ता तथा प्राप्तिका रूपमा मात्रै प्रेमलाई नलिनुकाे परिणाम हाे। तसर्थ याे विगतको स्मरण, पहिलो प्रेम, त्याग र समर्पणको कथालाई विषय बनाएर आत्मिक प्रेमकाे आदर्शीकरण गरिएकाे कथा हो।
जनयुद्धले निम्त्याएको समस्यालाई विषय बनाएर युद्धविराेधी कथा लेख्नमा पनि कल्पित खप्पिस देखिन्छन्। उनले ‘उहाँहरू आउनुभाे मम्मी?’ शीर्षककाे कथामा जनयुद्धकाे समयमा एम्बुसमा परी मरेका क्याप्टेनकाे पर्खाइमा बसेकी प्रेमिकाकाे मानसिक चाेटलाई मार्मिक रूपमा प्रस्तुत गरेका छन्। गृष्माले आफ्नाे जीवन ठानेकाे प्रेमीसँग वैवाहिक सम्बन्ध जाेड्ने सपना चकनाचुर भएपछि परेकाे मानसिक असर र बेहाेसीपन द्वन्द्वकालमा धेरै सर्वसाधारणले भाेग्नुपरेकाे पीडा हाे। तसर्थ युद्धका कारण कसैलाई पनि फाइदा नहुने भन्दै युद्ध विरोधी चेतनालाई यस कथाले विषय बनाएको छ।
कल्पितकाे शीर्षकथा ‘ग्याब्रियले’ जापानी परिवेशमा रचिएको कथा हाे। यसमा जापान र नेपालका सामाजिक, सांस्कृतिक, कानुनी पक्षहरूका साथमा मानवीय स्वभावकाे समेत तुलनात्मक चित्रण पाइन्छ। यस कथामा श्रीमान् थाेमसलाई छाडेर छाेरीलाई च्यापी हिँडेकी मिकाले उल्टै नचाहिँदाे आराेप लगाएर सम्बन्धविच्छेद तथा कुटपिटको मुद्दा दर्ता गरेकाे सन्दर्भमार्फत नारीबाट उत्पीडनमा परेका पुरुषको अवस्थालाई देखाइएकाे छ। महिलाको कानुन र अधिकार बलियो भएको जापान जस्ता देशमा महिलाले चाहे भने पुरुषलाई कति समस्यामा पार्न सक्छन् भन्ने स्थितिकाे यथार्थ चित्रण यसमा गरिएको छ। कथाकारले यसमा थोमसका साथीका रूपमा आफ्नै नाम (हरिश) काे उपस्थिति गराउनु र कथाकार पनि जापानमै रहँदै आउनुले कति कल्पना कति यथार्थ यस कथामा छ भन्ने भ्रम सिर्जना हुन पुगेकाे छ। तर यस कथामा जापानीप्रतिकाे लेखकीय दृष्टिकोण स्पष्ट हुन सकेकाे छैन। एउटै कथाभित्र “इमान्दारी हुनु जापानीको विशेषता हो” (पृ.७१ ) भन्ने लेखक यसैमा “जापानीहरू चिसो मुटुका हुन्छन्” (पृ.७७ ) भन्न पनि पछि परेका छैनन्। तर यसमा जापानका महिलाहरूले स्वतन्त्रताका नाममा पुरुषमाथि गरेको अन्याय र छोरीप्रति बाबुको प्रेम तथा तड्पाईलाई भने मार्मिक रूपमा प्रस्तुत गरिएकाे छ।
‘मेरी प्यारी छोरी’ शीर्षकको कथामा नेपाली समाजमा भएको लैङ्गिक विभेदलाई देखाइएको छ। छोराप्रतिको मोह र छोरीप्रतिको वितृष्णालाई यस कथाले विषयवस्तु बनाएको छ। यसमा गर्भमै छोरीलाई मार्ने योजनाप्रतिको सजकता र नारी अधिकारको वकालत गरिएको छ। परिवारमा पुरानो पुस्ताले राख्ने सोच धारणा र विचार पछिल्लो पुस्तासँग नमिल्दै गरेको र पितृसत्तात्मक समाज बदलिँदै गरेको सन्दर्भलाई पनि यस कथाले सङ्केत गरेको छ।
‘बधाई छ देवयानी’ शीर्षकको कथामा प्रेममा गरिएको बलिदान र त्यागलाई प्रमुख विषय बनाइएको छ र आदर्श प्रेमको वकालत गरिएको छ। आफ्नै प्रेमिकाले अरुलाई नै प्रेम गरेको र ऊसँग विवाह गर्ने निर्णयमा पुगिसके पछाडि पनि विचलित नभएको युवामार्फत प्रेमप्रतिको आदर्शलाई यसमा प्रस्तुत गरिएको छ। उच्च वर्ग र निम्न वर्गबिचको विभेदले प्रेममा पारेकाे प्रभाव यसमा देखिन्छ। प्रेमिकाको आग्रहमा जुनसुकै निर्णयमा पनि समर्पित हुन तयार रहेको प्रेमीको उपस्थिति मार्फत यस कथामा प्रेम प्राप्ति मात्र नभएर त्याग पनि हो भन्ने आदर्शलाई स्थापना गर्न खोजिएको छ।
‘कृष्ण सर’ शीर्षकको कथामा कृष्ण सर र सुशीलाबिचको प्रेम सम्बन्धलाई देखाइएको छ र उनीहरूको वैवाहिक सम्बन्धमा वर्गीयताले कुनै असर नपारेको सन्दर्भलाई यस कथाले पुष्टि गरेको छ। बाबुले आर्थिक अवस्थालाई औंल्याउँदै छोरी र ज्वाईंलाई व्यङ्ग्य गरिरहँदा कृष्ण सरको चित्त दुखेको, ससुराली जान छोडेको तर श्रीमतीसँगको प्रेममा भने कुनै असर नपरेको सन्दर्भमार्फत प्रेमका आदर्श रूपलाई यसमा प्रस्तुत गरिएको छ। साथै क्यान्सर रोगका कारण अन्तिम अवस्थामा पुग्दा पनि श्रीमतीलाई आश्वासन र प्रेम दिइरहने कृष्ण सरको आदर्श चरित्रको स्थापना यसमा गरिएको छ।
‘अनिमा’ शीर्षकको कथाले अनिमा र विवेकको प्रेम सम्बन्ध, विवाह, सन्तानप्राप्ति तथा आदर्श सम्बन्धलाई देखाएको छ। तर विवाहकाे पाँच वर्ष नबित्दै श्रीमान् विवेकको हवाईदुर्घटनामा परी मृत्यु भइसके पछाडि बोक्सीको आरोपमा सासूलगायत परिवारका अन्य सदस्यले गरेको दुर्व्यवहार सहन नसकी माइतीमा बसेकी अनिमाको स्मृतिलाई यसको विषयवस्तु तथा पृष्ठभूमि बनाइएको छ। विवेक र उसको प्रेमलाई भुल्न नसक्ने अनिमा दोस्रो विवाहको कुरा आउँदा स्मृतिमा हराएकी छ। मायाको चिनोका रूपमा बच्चालाई हेर्दै आगामी जीवनकाे निर्णयभन्दा विगतमै हराएकी अनिमामार्फत यसमा प्रेमको आदर्श रूपकाे स्थापना गरिएकाे छ।
‘केईकाे सेनसेई’ जापानी परिवेशमा आधारित कथा हो। जापानीहरूको यथार्थतालाई यसमा चित्रण गरिएको छ। भाषा सिक्दा शिक्षिका केईकोसँग भेट भएका म पात्रले उनै शिक्षिकासँगको आत्मीयता, सत्कार, सम्बन्ध तथा कुराकानीलाई यसकाे विषय बनाई जापानीहरूकाे जीवनशैली, संस्कृति तथा स्वभावकाे चित्रण यसमा गरेका छन्। लेखक जापानमा बस्दै आएका र जापानमै भाषा सिक्दै गरेको सन्दर्भलाई म पात्रको माध्यमबाट प्रस्तुत गरिएको हुनाले यथार्थ र कल्पनाको मिश्रणका रूपमा यसलाई लिन सकिन्छ। जापानीहरू शान्तिप्रिय, प्रकृतिपूजक र लामो आयु भएका रहेछन् भन्ने सन्दर्भ पनि यस कथाले प्रस्तुत गरेको छ।
‘भ्रमजाल’ शीर्षकको कथा भने अमेरिकी परिवेशमा लेखिएको कथा हो। यसमा प्रेमलाई नै विषय बनाइएको छ तर अनु र अमोलको प्रेम कथालाई यसमा जोडिएको छ। कामकाजी पढेलेखेका नारीहरूको उपस्थिति गरिएको यस कथामा अमेरिकामा पढेलेखेकाे डाक्टर भनी अमोलसँग प्रेममा परेकी अनुको विवाह अमितसँग गरिदिइएको छ। जीवनभर पहिलो प्रेमलाई सम्झेर बाँच्न विवश प्रेमिकाको कथा यसकाे विषय बनेको छ। प्रेममा वर्ग, जात, धर्म आदि तगारो बने पनि मनबाट कहिले नहट्ने निष्कर्ष यस कथाले दिएको छ। श्रीमानलाई नेपाल फर्कने सङ्कल्प गराउँदै गर्दा विगतमा हराएकी अनुको प्रेम कथाका माध्यमबाट वास्तविक प्रेमकाे शक्ति तथा महत्त्वकाे चित्रण यसमा गरिएको छ।
‘एडमको प्रेम’ फरक विषयवस्तुलाई उठान गरिएको कथा हो। यसमा तेस्रोलिङ्गीको समस्यालाई कथाको विषय बनाइएको छ। एडम सिजनका घनिष्ट साथीका रूपमा यस कथामा देखापरेको छ र आफ्ना वैयक्तिक सन्दर्भहरू साटासाट गरेकाे छ। जापान र नेपालमा तेस्रो लिङ्गीप्रतिको धारणा खुकुलो नरहेको तर अमेरिकामा भने स्वतन्त्रता रहेको अथवा अन्य लिङ्ग सरह समान अधिकार रहेको कुरालाई यस कथामा देखाइएको छ तसर्थ एडमको उद्देश्य अमेरिकामा गएर उसको प्रेमीसँग सुखद जीवन तथा भविष्य बिताउने रहेको छ। यसरी एडमको हुनेवाला जीवनसाथी एलेक्स पनि समलिङ्गी रहेको र त्यसलाई उसका परिवारले समर्थन गरिसकेको अवस्थालाई यसमा देखाइएको छ तसर्थ यस कथाले समलिङ्गीहरूको हक अधिकार सुरक्षाका लागि अमेरिका अन्य देशभन्दा अगाडि रहेको सन्दर्भका साथै उनीहरूकाे समान अधिकार र अस्तित्वमा सबै देशकाे ध्यान पुग्नुपर्ने विचार यसमा प्रस्तुत गरिएकाे छ।
कल्पितका १३ वटै कथाहरू Flashback अर्थात् पूर्वदीप्ति शैलीमा लेखिएका छन्। पात्रहरू अतीतको स्मरणमा पुगेर घटनाकाे बेलिविस्तार लगाउँछन्। कतिपय कथामा यसले पाठकमा अन्याेलता सिर्जना गर्ने परिस्थिति पनि देखिन्छ। विषयवस्तुमा विविधता र लेखनमा आलङ्कारिकताकाे कमी हुँदाहुँदै पनि उनका कथा काैतुहलपूर्ण छन्। वर्णविन्यास तथा आदर एवम् तिर्यकीकरणमा देखिएका त्रुटिले यसप्रति सचेत पाठकलाई कतैकतै बिथाेल्ने सम्भावना देखिए पनि अर्थकाे अनर्थ लाग्ने स्थिति भने छैन। उनका कथाहरूमा प्रथम पुरुष दृष्टिबिन्दुभन्दा तृतीय पुरुष दृष्टिबिन्दुको प्रयोग बढी पाइन्छ। यसले घटना तथा विषयलाई सर्वदर्शी बनाएकाे छ। कथासङ्ग्रहकाे शीर्षक मात्रै हेर्दा सबै जापानी परिवेशका कथाकाे सङ्गालाे हाे कि भन्ने भ्रम पर्ने भए तापनि कथाभित्र प्रवेश गर्दा ती छर्लङ्ग हुन्छन्। परिवेशका हिसाबले हेर्दा यसमा जापानीभन्दा नेपाली परिवेशका कथाकाे आधिक्य देखिन्छ। त्यसमा पनि ग्रामीण जनजीवनभन्दा सहरी जनजीवनलाई बढी प्रश्रय दिइएकाे छ। मूलतः प्रेम नै कथाका विषय बनेका छन्। प्रेमका चास्नीभित्र वर्गीय विभेद, सामाजिक, भाैगाेलिक विभेद, लैङ्गिक विभेद, राजनीतिक विकृति र विसङ्गतिमाथि प्रहार गरिएकाे छ। युद्धविराेधी तथा शान्तिका पक्षधर कल्पित यी कथाभित्र मानवता, भाइचारा र आत्मिक प्रेमका पक्षधर बनेर उभिएका छन्। निस्वार्थ प्रेमकाे शक्तिका माध्यमबाट जीवन पढाउँदै शालीन क्रान्ति गर्ने कल्पितका कथामा वर्गीयता, राष्ट्रप्रेम, आध्यात्मिक चिन्तनसँगै प्रेम, आस्था र आदर्शकाे प्रतिबिम्बसमेत प्रस्तुत भएका छन्। कल्पितका सशक्त कलम नराेकिउन् भन्ने शुभेच्छा छ।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।