Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

कथा: घरको मृत्यु

असार १७, २०८२

पुस्तक समीक्षा : “उपद्रष्टा हर्कमान तामाङका पाना पल्टाउँदै जाँदा”

असार १४, २०८२

प्रेम

असार १४, २०८२

छर्रा

असार १४, २०८२

हुरी

असार १४, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » संस्मरण: सम्झनाको सन्झ्यालबाट पुस्तकालयको आलोक

संस्मरण: सम्झनाको सन्झ्यालबाट पुस्तकालयको आलोक

गैर आख्यान - संस्मरण
मधुर भट्टराईमधुर भट्टराईफाल्गुन ६, २०८१176 Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

“दाइ-दाइ गाइ हाँस्या र बाहुन नाच्या अलच्छिन लाग्छ भन्थे, गाउँमा सार्है अलच्छिन लाग्ने भो” न्यौपाने दिदीले लामो सुस्केरा हालेर भन्नुभयो।
बुबा बेलुकाको खाना खाँदै हुनुहुन्थ्यो। “ए हो र! के हुने भएछ बहिनी त्यस्तो हाम्रो गाउँमा?”- बुबाको प्रश्न थियो।
न्यौपाने दिदी बुवाको साक्खै मामाकी छोरी। गाउँघरमा घटेका वा विकसित घटनाक्रमसँग सम्बन्धित बिषयमा छलफल तथा अन्य कुराकानी गर्न दिदी प्रायः हाम्रो घरमा आइरहने गर्नुहुन्थ्यो। हामी खाना खाँदै थियौं। दिदीले के बिषयमा कुरा उप्काउन खोज्नु भएको हामीलाई सप्पै थाहा थियो। तर मौन थियौं। सायद बुबालाइ पनि अलिअलि ज्ञात भएकै हुँदो हो तर वहाँले दिदीकै मुखबाट जान्न चाहेको हामीले महशुस गऱ्यौँ।
दिदीले थप्नुभयो- “के हुन्थ्यो नी दाइ! तपाईं हाम्रा छोराहरू यो तिजमा नाटक खेल्ने अरे! अब भन्नु त दाइ अब केही बाँकी रह्यो?”
दिदीले अनुहार अमिलो पार्नुभयो। बुवाले पनि ए हो र! म सोधिहेर्छु है त केटाहरूलाई भनेर आश्वासन दिनुभयो।
मलाइ लाग्छ त्यो पुस्तकालय २०५१ सालमा स्थापना भएको थियो। एकदिन बिहानै दोबाटो छेउमा रहेको धारामा मुख धुन जाँदा धारादेखि बाटो पूर्व हाम्रो काकाको घरदेखी दक्षिण तर्फको जमिनमा भर्खरै काटेर ल्याइएका भिक्सका काँचा रुखहरू देखिए। हामी साना भएकाले पूर्ववत योजनाका बारेमा केही थाहा थिएन। एक्कासी त्यत्रा रुखहरू देख्दा म अचम्मित भएको थिएँ। ए रात्तै के पो हुन लागिसकेछ यहाँ। प्रश्नहरूले दिमागलाई चारैतिरबाट ठुँग्न थालेका थिए। एकैछिनमा त्यहाँ काका, दाजुहरूको जमघट भयो। ती रुखहरू फारलाइनको जङ्गलबाट रातिमात्र ल्याउनुभएको रहेछ वहाँहरूले। र हेर्दाहेर्दै तीनै काठ ती जुझारु युवाहरूको सामुहिक प्रयासबाट ठडिएको थियो पुस्तकालय हाम्रै काकाको जमिनमा।

पूर्व भोटे टोलदेखी पश्चिममा फुटबल मैदानसम्म तन्किएको बाटो। बिचमा हाम्रो गाउँ छिचोल्ने ठाडो डगर। ती बाटाहरू मिसिएको दोबाटो छेवैमा स्थापना गरिएको थियो पुस्तकालय। पुस्तकालय बन्दै गर्दा हामीले कल्पनै नगरेको आकर्षक संरचना निर्माण भयो। एउटा सानो तर छरितो पश्चिमी मुख भएको दुईपाखे घर। उक्त घरको आधामा मान्छे बस्न मिल्ने गरि पटाहा ठोकिएको थियो भने आधा भाग बेरबार र लिपपोत गरेर बनाइएको एउटा छुट्टै कोठा। कोठा भित्र एउटा पुरानो दराज। पुस्तकालयको ठिक अगाडि पट्टी एउटा साइन बोर्ड थियो जसमा लेखिएको थियो। “ज्ञान, अनुशासन र सृजनशीलता जनज्योति पुस्तकालय किसाननगर- ६ फूलबारी टोल, महोत्तरी।”

पुस्तकालय के बालक, के युवा, के वृद्ध सबैको निम्ति साझा थलो बन्यो। बिहानभरिको कामको थकान बिसाउने, विद्यालय पछिको छुट्टीको समय व्यतीत गर्न, पढन खेल्न सबै कामहरूको निम्ति पर्याय हुन पुग्यो। पुस्तकालयमा केही क्लासिक साहित्यिक कृतीहरु थपिए। वाङ्देल, पारिजात, देवकोटा, सम लगायतका अन्य अन्य व्यक्तित्वका पुस्तकहरूले सानो दराजको तख्तामा ठाउँ पायो। यसको अलावा केही मासिक तथा पाक्षिक प्रकाशनहरू जस्तै युवामन्च, विवेचना, मधुपर्क तथा सिनेमासंग सम्बन्धित अन्य प्रकाशनहरूको सस्यानो जमघट हुन पुग्यो। हामी साहित्यिक पुस्तक पत्रिका भन्दा सिने जगतका समाचार तथा चित्रांकित पत्रिका पढन लालायित हुन्थौं। तर रामेले खाएपछी च्यामेको पालो भने जस्तै हाम्रा पुस्ताले भने अग्रजहरूले पढि सकेपछी मात्र पढ्न पाउँथ्यौं। पत्रिका हातमा परेपछी पत्रिकाको आलो बास्ना सुँघ्थ्यौं अनि पत्रिका हेर्दै गर्दा लाग्थ्यो हामी संसारकै शौभाग्यशाली व्यक्तिमध्येका हौं। हाम्रो जिज्ञासु उमेरको कारणले पनि होला हाम्रो पठन मोह जन्मिएर छिट्टै पखेटा हाल्न थालेको थियो।

तर पुस्तकालय खुल्ने निश्चित समय तालिका थियो। करिब ११ बजेतिर खुल्ने पुस्तकालय दिनको २ बजेतिर बन्द हुने गर्दथ्यो। २ बजेपछि सबै आ-आफ्नो गोरखधन्दामा लाग्नुपर्ने ग्रामीण परिवेश भएकोले उक्त समयावधि छुट्याइएको थियो सायद। कोही झुण्ड बनेर क्यारेम खेल्थे, कोही एउटा कुनामा चेस खेलेर बस्दथे कोही भने लुँडो वा व्यापारी खेलेर बसिरहेको देखिन्थे। हेर्नेहरूको कुँडुलो लाग्थ्यो। पढ्नेहरू पढेर बस्दथे। गर्मी याममा हाम्रो विद्यालय बिहान संचालन हुन्थ्यो। विद्यालयबाट फर्केपछी हतार हतार खाना खाएर पुस्तकालय तर्फ दौंडिन्थ्यौ। पुस्तकालय परिसरमा सिसौ, अम्बा लगायतका रुखहरू थिए।रुखहरूले पंखा हम्किन्थे। चराहरूले मानिसका बोलीमा सङ्गित भर्थे। त्यहीँ सियालमा हाम्रो सानो गाउँका फुर्सदिला मान्छेहरू उपस्थिति हुन्थे र आफ्नो रुचि अनुसारको काममा सरिक हुन्थे।

एकपटक पुस्तकालयको कार्यसमितिले भित्ते पात्रो प्रकाशन गर्ने निर्णय गर्यो। कार्यसमितिमा डिल्लीराम दाइ पुस्तकालयको अध्यक्ष हुनुहुन्थ्यो, सचिवमा मनुकाका सहसचिवमा यज्ञदाइ लगायत गाउँका अन्य गन्यमान्यहरू विविध भूमिकामा थिए।कार्यसमितिको निर्णय पुस्तकालयको सूचना पाटीमा टाँस भयो। हामीलाई रमाइलो लाग्यो किनभने भित्तेपत्रिका हामीले देखेकै थिएनौं। भित्तेपत्रिका राम्रो हस्तलिखित अक्षरमा केही जानकारीमूलक र केही सृजनात्मक रचना समावेस गरेर प्रकाशित भयो पुस्तकालय कै भित्तामा। प्रायश: रचना छाप्दा त्यतिबेला आफ्नो नाम पछाडि आफ्नो उपनाम झुन्ड्याउने प्रचलन व्यापकरुपमा चलेको थियो। रेडियो नेपालको विभिन्न कार्यक्रममा पनि श्रोताहरूले पत्र पठाउँदा नाम सहितको उपनाम प्रशस्तै सुनिन्थ्यो जस्तै बैरागी, दोषी, घायल, अभागी इत्यादि। रेडियो सुन्दा लाग्थ्यो सबै श्रोताहरू कि एक्ला छन कि असफल छ्न वा कुनै न कुनै कारणले विक्षिप्त छ्न। त्यो त्यस समयको ट्रेडमार्क भएको थियो सायद। गाउँकै दाइ नबराज पोखरेल सलमान खानको ठूलो फ्यान। दाइले आफ्नो नाम पछाडी सलमान झुण्ड्याउनु हुन्थो। सलमानको सिनेमा “मैने प्यार किया” बर्दिबास हलमा भर्खरै चलेको थियो। सलमानको धुवाँदार प्रशंसक नवराज उर्फ शिशिर दाइले पनि कुनै रचना प्रकाशित गर्नुभएको थियो सायद सलमान उपनाम राखेर। तर पत्रिका प्रकाशन भएको भोलिपल्ट हेर्दा कुन्नि हो कसले सलमान उपनाम अगाडि उस्तै रंगको मसिले `मु´ थपिदिएछ र भएछ शिशिर पोखरेल मुसलमान। दाइको असन्तुष्टि र आवेगको हिमाल अग्लियो। आफूप्रती वैरभाव राख्नेहरूलाई इङ्गीत गर्दै त्यसै नछाड्ने चेतावनी दिनुभयो। डिल्लीराम दाइ मनुकाका लगायतकाले सम्झाएपछि मत्थर हुनुभएको थियो। तर त्यसको साइड इफेक्टको रुपमा भित्तेपत्रिका पहिलो अंकबाटै शिशिरको रुखको अन्तिम पात खसे जस्तै खसेर गयो।
मध्याह्नको त्यो रमझम साँझमा गाउँदेखि पश्चिमतर्फ अवस्थित लमतन्न चौरमा सर्दथ्यो। अग्रजहरु फुटबल खेल्थे। हामी अर्थात भूराहरु मैदान बाहिरिएका फुटबल पुन: मैदान भित्र फाल्ने गर्‍थ्यौं। खेल हेर्न तथा सांयकालीन सफरको निम्ति मानिसहरू त्यतातिर आउने गर्दथे। चौर चारकुना मिलेको तौलिया आकारको थियो। चौरको पूर्वपट्टी पथलैया जाने बाटो, उत्तरमा पोखरी तथा दक्षिणमा गाउँले हुर्काएको एउटा सानो वन थियो जसलाइ हामी पोर्जेक्ट भन्थ्यौं। साँझ खेल समाप्ति पश्चात् सबैजना गोलबद्ध भइ बस्थे हावा खानको निम्ति र पेलेले वर्ल्ड कपमा गरेको गोलदेखि कृष्ण प्रसाद भट्टराईको प्रधानमन्त्रीत्वमा भएका घटनाक्रम लगायत नायक नायिकाहरूको बारेमा चर्चा परिचर्चा चल्थ्यो। हामी साना भने लुसुक्क छेउबाट घुस्रेर रमाइला गफको आनन्द लिने गर्थ्यौं।

एकदिन समसामयिक बिषयमा चर्चा हुँदै गर्दा आउँदो तिजमा पुस्तकालयको प्राङ्गणमा नाटक देखाउने कुरा चल्यो। नाटक कस्तो होला भन्ने जिज्ञासाको चक्रवात चल्यो मनभरी। हामी उत्साहित थियौं। रेडियो नेपालमा शनिबार १:३० बजे प्रशारण हुने नाटक बाहेक अन्त सुनेकै थिईंन्ँ हेर्ने त परको कूरा भयो। नाटक कस्ले लेख्यो थाहा भएन तर मध्याह्न तिर खेलमैदान भन्दा पश्चिम मकैबारिमा नाटक रिहर्सल हुँदैछ भन्ने खबर केही सुराकी साथीहरूले ल्याए। हामी डराई डराई त्यतातर्फ जाने बारम्बार प्रयत्न गर्यौं तर दाईहरूबाट बारम्बार लखेटाइमा पर्यौं।

हाम्रा नकुलदाइ तथा सान्दाइ छोरीहरूको भूमिकामा देखिने चर्चा थियो। दाइहरूले हाम्री दिदीबहिनीको लुगा नाटकको बेला लगाउनको निम्ति जोरजाम गर्नुभयो। गाउँभरी नाटकको बारेमा टीका टिप्पणी चल्न थाले। बिशेषगरि गाउँका पहिलो पुस्ताका मानिसहरू यस्तो नाटक गाउँमा खेल्न नहुने यसले गाउँमा छोरी चेली बिग्रीने तथा बिकृती भित्रीने जस्ता तर्कको लौरोले नाटक हुने संभावनालाई लखेट्ने प्रयास गरिरहेका थिए भने; दोश्रो पुस्ताका दाइहरू भने गुप्त रुपमा नाटकको तयारीमा लागिरहेका थिए। नाटक देखाउनको निम्ति खाट जोडेर स्टेज बनाउने स्थानीय प्रचलन थियो। दाइहरूले खाटको जोरजाम गर्दैगर्दा केही गाउँलेहरूले खाट घरबाट लान नदिई नाटक मन्चनको योजनालाई प्रभावित पार्ने यत्नमा थिए। तर जसरी तसरी स्टेज निर्माण भयो तिजको साँझ। नाटक हेर्न मान्छेको हाट लाग्यो।

सम्झना भएसम्म उक्त नाटकमा बिष्णु पोखरेल दाइ आमाको भूमिकामा प्रस्तुत हुनुभयो। मनुकाका भिनाजुको भूमिकामा तथा कुमार दाइ भाईको भूमिकामा देखिनुभयो। नकुलदाई र सान्दाइ छोरीहरू बन्नुभयो। उक्त नाटकको मुख्य आकर्षक नाटकको अभिनेता भए। रामबाबु रोकाहा दाइ मक्करेको भूमिकामा देखिनु भयो। मक्करेले आकाश तर्फ पेस्तोल तेर्स्याउँदै आकाशमा घाम नहोला, समुद्रमा पानी नहोला तर मक्करेसँग पैसा छैन भन्नु असम्भव हा…. हा…. हा… भन्ने डायलग हाम्रो सामाजिक बृत्तमा केही दिनसम्म गुन्जिरह्यो। रामबाबु न्यौपाने दाईले आलुपाँडेको प्यारोडी समाचार गाईजात्रे शैलीमा भनेर सबैलाइ हँसाउनु भयो। त्यसैगरी रामहरि दाइले असारे मैनामा पानी पर्यो रुझाउने…. बोलको छुजाङ डुक्पाको गीत गाउँदा धेरैको आँखामा साउन उर्लेको चर्चा चलेको थियो। कुमार दाईले यस्तै रहेछ यहाँको चलन भन्ने लोचन भट्टराईको गीत गाएर सबैलाइ उदास पारिदिनुभयो। नाटकमा चुट्किला थियो, प्रहसन थियो त्यो भन्दा धेरै हाम्रो निम्ति मनोरञ्जनको एक पुलिन्दा थियो। सबैभन्दा रमाइलो के भयो भने नाटक मन्चन हुन दिन नखोज्ने व्यक्तिहरू अन्ततोगत्वा दर्शकदिर्घाको पछिल्लो लहरमा उभिएर नाटक हेरिरहेका देखिएपछि नाटकले सामाजिक स्वीकृति पाएको ठानेर दाईहरू पुलकित हुनुभयो।

पुस्तकालय दिन प्रतिदिन गुलजार हुँदै गयो। हाम्रो अध्ययनको दायरा कठ्ठाबाट बिगाहामा फैलिन थाल्यो। बिष्णु दाईले मालती मङ्गले नाटक भाका हालेर गाउँदा हामी मन्त्रमुग्ध हुन्थ्यौं। मनुकाकाले चुट्किला सुनाउँदा मुख र कान सम्मुख पारी-पारी हाँस्थ्यौं। यज्ञ दाईले खुईते कडरियाको कथा हाल्दा भावुक भएर सुन्थ्यौं।

२०१७ सालतिर बुबा ठ्याक्कै १८ बर्षको हुँदा सुरुमा बेंगाडावर र पछि उक्त स्थानमा बसाइँ सरि हजुरबा आउनुभएको रहेछ। सो भन्दा अगावै बुबाका मामाहरू पर्याप्त मात्रामा जग्गा आवाद गरि बस्नुभएको हुनाले सोही सम्बन्धको लहरो समाउँदै बुबाहरू आउनुभएको रहेछ। पहाडी कष्टकर जिवनबाट त्राण पाउनको निम्ति। त्यसपछि केही जग्गा किनेर बसोबास सुरु गर्नुभएको थियो रे। महेन्द्रिय कालमा आवादी खोलेकाले अग्घोरै मलिलो र उर्वर रहेछ। अन्न फलेको देखेर बुबाहरू अचम्मित हुनुभएको थियो रे त्यस बखत। नयाँ माटो नयाँ खेती अनाज माटै सरिको हुन्थ्यो रे। मकैको सिजनमा मकै शिला खोजेर ४० मन पारेको तथ्य सुनाउनुहुन्थो हामीलाई। चनाको बोट चडेर सोइसोईलो खेल्न मिल्ने हुन्थ्यो रे। भरमान्छे अग्लो। सुन्दापनी ताज्जुब लाग्ने। यस्तै यस्तै ताज्जुब लाग्ने तथ्यबाट सम्मोहित भएर उदयपुरको ताप्लीदेखी महोत्तरीको यस अनकण्टार र पानीको चरम दु:ख हुँदाहुँदै पनि बस्नुभएको रहेछ हाम्रा पिता पुर्खाहरू।

सोही स्थानमा कालान्तरमा एउटा राम्रो गाउँ बन्यो। आफन्तै आफन्तको गाउँ। गाउँको जुनसुकै घर पसेपनी आफन्तै कहाँ पुगिने। धेरै पहिले सो ठाउँमा एकजना प्रभावशाली तामाङ जमिन्दार रहेछ्न र प्रचलन अनुसार तिनैको नामबाट नामकरण भएको रहेछ गाउँको नाम – गुण्डे टोल। पछि हाम्रा बुबाका मामाहरू त्यहाँ बसाइँ सरि आएर प्रभाव जमाउन थालेपछी मामाहरूको नाकको बनोट हेरेर अरुहरूले नै राखिदिएका रहेछन गाउँको नाम – नाकठाडे टोल। प्रकारान्तरले लिखित रुपमा अलि सभ्य र सुसंस्कृत होस् भन्ने हेतुले बुबा लगायत अन्य गाउँलेको पहलकदमीमा गाउँको नाम फूलबारी टोल रहनपुग्यो। हामी सानै छँदा अन्य गाउँका पाका पुराना मान्छेहरू हाम्रो गाउँलाई गुण्डे वा नाकठाडे टोलेको रुपमै बुझ्दथे तर त्यो नामले सो गाउँ चिन्ने पुस्ता बिरलै होलान अहिले। गाउँको प्रमुख आयको श्रोत कृषि थियो। तर मैले थाहा पाउने बेलासम्म बुबाले सुनाउनुभएको उत्पादनको कथा एकादेशको कहानी जस्तै भैसकेको थियो। गाउँका पहिलो पुस्तालाई जिविकोपार्जन बाट फूर्सद थिएन। दोस्रो पुस्ता भने अलि नयाँ सोच र वैचारिक क्षितिज फराकिलो बनाउँदै लगेको पुस्ता थियो। त्यसैको परिणाम स्वरूप पुस्तकालय स्थापना भएको थियो। त्यो पुस्तकालय स्थापना हुनु एउटा वैचारिक क्रान्ति थियो गाउँमा। फलस्वरूप पढ्ने र खेल्नेहरूको साझा चौतारी बन्दै गईरहेको थियो सो पुस्तकालय।

तर समय सिधा रेखामा हिड्न इन्कार गऱ्यो। समय बदलिएर बक्ररेखामा हिंडन थाल्यो। परिस्थितिले फेरेका काँचुलीहरू यत्रतत्र देखिन थाले। आफन्तै आफन्तले बनेको गाउँमा मन मुटाव र बिग्रहका तिखा झोक्काहरू चल्न थाले। कसैले पुस्तकालय मागी खाने भाँडो भएको आरोप लगाए, कसैले विकृतिको अड्डा भएको जिकिर गरे। कार्यसमिति मै स्पष्ट धारहरू देखिन थाले। सतहमा पुस्तकालय भएपनी अन्तर्यमा भने आफन्तै आफन्त बिचको संघर्षमा पुस्तकालय घुन झैं पिसिन पुग्यो। गाउँ कर्दले काँक्रा चिरेजस्तै दुई समूहमा विभाजन भयो। गाउँले गाउँले बिचमा कित्ताकाट चल्यो। तिब्र ध्रुवीकरणले गाउँको आनीबानी र चालचलन फेरियो। गाउँको एकतामा अचानक भुईचालो गयो। कित्ताकाटले पुस्तकालयका भित्ता खाँबो देखि पुस्तक तथा पत्र पत्रीकाहरू पनि चेपुवामा परे। पुस्तकालय गृहकलहले अंश छुट्टीएका २ भाइ जस्तै २ अंशमा बिभाजन भयो। साबिकको पुस्तकालय भत्किन पुग्यो। हामी चेतनाशुन्य भएर त्यो दृश्य हेरिरह्यौं। हामी निराश थियौँ। त्यो जमघट, त्यो परिवेश फेरि कहिल्यैँ स्थापित नहुने भयले हामी आक्रान्त थियौँ।
मन खिस्रीक्क पऱ्यो। त्यो तथ्य आत्मसात गर्न हामीलाइ गाह्रो पऱ्यो। चेतनाको भर्खरै बल्न लागेको दियो अचानक हुरि आएर निभाए जस्तै भयो। गाउँमा पक्ष विपक्षमा ठूलै द्वन्द चल्यो। पानी बाराबार सम्मको स्थिति सृजना भयो। कुनै हिन्दी सिनेमामा देखाईने द्वन्द भन्दा कम थिएन त्यस बेलाको हाम्रो सामाजिक द्वन्द। त्यो द्वन्द्वले हामीलाई वैचारिक र भावनात्मक रुपमा अग्लिन दिएन अपितु ओरालो तर्फ मात्र धकेलिरह्यो।

उक्त स्थानमा पुरानो पुस्तकालय भत्किए तापनि हामीले हाम्रो सामुहिक अग्रसरतामा पुरानै ढाँचामा एउटा बहुउद्देश्यीय घर ठड्यायौं। तर घरभित्रको पुस्तकालयको आत्मा अन्तै सरिसकेकाले घर अस्थिपन्जर मात्र देखिन पुग्यो। पूरानो रौनकता र आकर्षण गुँड भत्किएर उडिगएका पक्षी जस्ता भए कहिल्यैँ फर्केर आएन। जमघट त भयो तर पहिलेजस्तो हुन सकेन। इतर पक्षका दाईहरूले पनि मनुकाकाको घर पछाडि मूल डगर छेवैमा उस्तै संरचना खडा गरे अझ धेरै मिल्दोजुल्दो शैलीमा तर उक्त पुस्तकालयको नियती पनि हाम्रै पुस्तकालय जस्तो भयो। केहिदिन संचालनमा आएर त्यो पनि छोटो समयमै बन्द भयो। यसरी हाम्रो गाउँको पुस्तकालय विघटनको संघारमा पुगि अस्तित्व नामेट हुन पुग्यो।

पुस्तक पढ्ने, खेल्ने, जमघट हुने, बेलुका रेडियोबाट प्रसारित हुने रोदी कार्यक्रम सुन्ने र बेला बेला गुनगुनाउने लोकभाकाका गेडा पनि अरसल्ल पर्यो। हाम्रो उत्साहको तार चुँडियो र संज्ञा शुन्य हुन पुग्यो। पुस्तकालय मात्र सम्झनामा उभिईरह्यो र त्यहाँका जिवन्त गतिविधिहरू मनको तख्तामा। बाँकी सबै बिर्सिजाने ईतिहास भएर समयको लहरसँग बग्दै बग्दै केही स्मृति र केही विस्मृतिका महासागरमा बिलिन हुन पुग्यो। म अचेल सोच्छु यदि उक्त पुस्तकालय निर्वाध संचालन भइरहेको भए हाम्रो गाउँको चेतको स्तर अझ कति उँचो हुने थियो होला? यो अनुत्तरित प्रश्नले आजपर्यन्त सम्म पनि लखेटिरहन्छ।
०००
बर्दिबास-१४, महोत्तरी

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

मधुर भट्टराई संस्मरण

यो पनि पढ्नुहोस्...

निबन्ध : एउटा विशुद्ध प्रेम कथा

संस्मरण: दादा, तिमी किन रोएको? नरुनू, म छु…

संस्मरण: पञ्चायतविरुद्धको आन्दोलन र अधुरो अपेक्षा

निबन्ध: नेपाली विद्यार्थीको नजरमा देश

निबन्ध: खडेरीमा पनि फुल्ने फूलहरू

संस्मरण: मित्रताको आयु र गौरीपुर हाउस

raj shrestha book
♈ दैनिक राशिफल ♎

विशेष

कथा : स्वच्छन्द

कथा: निर्मलाहरू

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

कथा: पश्चाताप

भर्खरै

कथा: घरको मृत्यु

असार १७, २०८२

पुस्तक समीक्षा : “उपद्रष्टा हर्कमान तामाङका पाना पल्टाउँदै जाँदा”

असार १४, २०८२

प्रेम

असार १४, २०८२

छर्रा

असार १४, २०८२

हुरी

असार १४, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.